किया के३ सेल्टोस सार्वजनिक, मूल्य ६८ लाख ९० हजारदेखि

काठमाडौं । किया नेपालले नेपाली बजारमा आफ्नो नयाँ पुस्ताको अल न्यु किया के३ सेल्टोस एसयूभी सार्वजनिक गरेको छ । काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा आयोजित विशेष कार्यक्रममा कम्पनीले उक्त गाडीको औपचारिक अनावरण गरेको हो ।

तेस्रो पुस्ताको यो एसयूभीमा आकर्षक डिजाइन, उन्नत सुरक्षा प्रणाली, आधुनिक प्रविधि, उच्चस्तरीय आरामदायी सुविधा तथा उत्कृष्ट कार्यक्षमता समावेश गरिएको कम्पनीले जनाएको छ ।

कियाको नयाँ के३ प्लेटफर्ममा आधारित यस मोडलमा मजबुत बडी संरचना प्रयोग गरिएको छ, जसले फराकिलो क्याबिन, यात्रुका लागि थप सहजता तथा परिष्कृत ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास गरिएको छ । भारतस्थित कियाको अत्याधुनिक उत्पादन केन्द्रमा निर्मित यो गाडी विश्वका ९० भन्दा बढी मुलुकमा निर्यात हुँदै आएको छ ।

सुरक्षाको दृष्टिले पनि नयाँ के३ सेल्टोस निकै सशक्त रहेको कम्पनीको दाबी छ। यसमा लेभल–२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडिएएस), २१ वटा मानक सुरक्षा सुविधा, ६ वटा एयरब्याग, प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरुफ जस्ता विशेषता समावेश गरिएका छन् । यी सुविधाले यसलाई आफ्नो वर्गकै अत्यधिक सुविधासम्पन्न एसयूभीमध्ये एक बनाएको कम्पनीको भनाइ छ ।

नयाँ के३ सेल्टोसले बीएनसीएपी सुरक्षा परीक्षणमा ८१ मध्ये ७६.७ अंक प्राप्त गर्दै फाइभ–स्टार सुरक्षा रेटिङ हासिल गरेको छ, जुन यस सेगमेन्टका उत्कृष्ट सुरक्षा उपलब्धिमध्ये एक मानिन्छ ।

कार्यक्रममा बोल्दै किया नेपालकी कार्यकारी उपाध्यक्ष रेखा घिमिरेले नयाँ मोडलले नेपाली ग्राहकलाई आधुनिक प्रविधि, प्रिमियम डिजाइन र उच्चस्तरीय सुरक्षा प्रदान गर्ने कियाको प्रतिबद्धतालाई थप मजबुत बनाएको बताइन् । उनले यो एसयूभीले नेपाली बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरिन् ।

कम्पनीले नयाँ के३ सेल्टोसलाई अघिल्लो पुस्ताको सेल्टोससँगै बिक्री गर्ने रणनीति अपनाएको छ । यसबाट ग्राहकले आफ्नो आवश्यकता, बजेट र रोजाइअनुसार विभिन्न विकल्पमध्ये छनोट गर्न सक्नेछन् ।

अल न्यु किया के३ सेल्टोस अहिले देशभर रहेका किया नेपालका आधिकारिक डिलरमार्फत उपलब्ध छ । चार वटा भेरियन्टमा उपलब्ध यो एसयूभीको मूल्य ६८ लाख ९० हजार रुपैयाँदेखि ९५ लाख ९० हजार रुपैयाँसम्म निर्धारण गरिएको कम्पनीले जनाएको छ ।