उत्कृष्ट बिक्रीपछिको सेवाका लागि लक्ष्मी हुन्डाईलाई आईएमईए ‘सर्भिस पर्फर्मेन्स अवार्ड’
काठमाडौं । नेपालका लागि हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले हुन्डाई मोटर कम्पनीद्वारा प्रदान गरिने प्रतिष्ठित ‘इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका (आईएमईए) सर्भिस पर्फर्मेन्स अवार्ड’ प्राप्त गरेको छ । उत्कृष्ट बिक्रीपछिको सेवा (आफ्टर–सेल्स सर्भिस) तथा उच्च ग्राहक सन्तुष्टिका आधारमा कम्पनीलाई यो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।
यस पुरस्कारले ग्राहकलाई गाडी बिक्रीमा मात्र सीमित नराखी दीर्घकालीन सेवा र विश्वास निर्माणमा लक्ष्मी हुन्डाईको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय स्तरमै स्थापित गरेको कम्पनीले जनाएको छ ।
हाल अधिकांश अटोमोबाइल कम्पनीहरू बिक्री विस्तार र शोरुम सञ्जालमा केन्द्रित भइरहेका बेला लक्ष्मी हुन्डाईले भने बिक्रीपछिको सेवालाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा अघि बढाएको छ । ग्राहकलाई गाडीको सम्पूर्ण प्रयोग अवधिभर सहज, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले कम्पनीले सेवा केन्द्रहरूको विस्तार, अत्याधुनिक पूर्वाधार निर्माण तथा प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिमा निरन्तर लगानी गर्दै आएको छ ।
नेपालबाट सञ्चालन हुने कम्पनीले भारत, मध्यपूर्व र अफ्रिका क्षेत्रअन्तर्गतका देशहरूसँग प्रतिस्पर्धा गर्दै यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हासिल गर्नु नेपाली अटोमोबाइल क्षेत्रकै लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले नेपालको सेवा क्षमता र ग्राहक–केन्द्रित व्यवस्थापन अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको सन्देशसमेत दिएको छ ।
कम्पनीका अनुसार यो सफलता सम्पूर्ण कर्मचारीहरूको समर्पण, व्यावसायिक दक्षता तथा ग्राहकलाई पहिलो प्राथमिकतामा राखेर गरिएको निरन्तर प्रयासको प्रतिफल हो । साथै, कम्पनीले आफ्ना ग्राहकहरूको अटुट विश्वास, साथ र सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।
लक्ष्मी हुन्डाईले प्राप्त गरेको यो सम्मानले नेपाली अटोमोबाइल बजारमा गुणस्तरीय बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिको नयाँ मापदण्ड स्थापित गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ ।