सडक पुरानै, गाडी स्मार्ट : प्रविधिको नयाँ चुनौतीमा नेपाल
काठमाडौं । नेपालका सडकमा गुड्ने गाडी दिनप्रतिदिन स्मार्ट बन्दै छन् । चालकलाई दुर्घटनाको जोखिमबारे सचेत गराउनेदेखि नजिकको चार्जिङ स्टेसन खोजिदिनेसम्मका सुविधा गाडीमै आउन थालेका छन् । तर गाडीको प्रविधि बदलिँदै जाँदा नेपालको सडक, नीति र जनशक्ति त्यसअनुसार तयार छन् कि छैनन् भन्ने प्रश्न झन् गम्भीर बनेको छ ।
नेपालमा विद्युतीय तथा प्रविधियुक्त सवारीको आयात तीव्र भए पनि त्यसबाट उत्पादन हुने डेटा व्यवस्थापन, साइबर सुरक्षा, गुणस्तर परीक्षण, अनुसन्धान र दक्ष जनशक्ति विकासमा पर्याप्त तयारी नभएको सरोकारवालाहरूले बताएका छन् ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोअन्तर्गत आयोजित ‘एआई एन्ड अटोमोटिभ टेक्नोलोजी : ड्राइभिङ द फ्युचर अफ मोबिलिटी’ संवादमा वक्ताहरूले नेपाललाई सवारी आयात र बिक्री गर्ने बजारमा मात्रै सीमित नराख्न सुझाव दिए । उनीहरूले स्थानीय आवश्यकताअनुसारको अनुसन्धान, प्रविधि विकास र डेटा प्रयोगमा अब ध्यान दिनुपर्ने बताए ।
वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्यका अनुसार एआईलाई गाडीभित्रका सुविधामा मात्र नभई सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र रुट प्लानिङमा समेत प्रयोग गर्न सकिन्छ । गाडीका सेन्सरबाट प्राप्त डेटा विश्लेषण गरी सडकको अवस्था पत्ता लगाउने, चालकको ड्राइभिङ शैली सुधार्ने र ब्याट्री सकिनुअघि उपयुक्त चार्जिङ स्टेसन सुझाउने सम्भावना रहेको उनले बताए ।
मौसम तथा वर्षाको विवरण गाडीसँग जोड्न सके सडकको अवस्थाअनुसार ट्र्याक्सन कन्ट्रोल मोडसमेत स्वतः परिवर्तन गर्न सकिने उनको भनाइ छ । गाडीबाट संकलित डेटा सरकारी निकायसँग सुरक्षित रूपमा साझेदारी भए खाल्डाखुल्डी र जोखिमयुक्त सडक पहिचान गर्न पनि सहयोग पुग्न सक्छ ।
तर नेपालमा अटोनोमस ड्राइभिङ तत्काल व्यावहारिक हुने अवस्था नरहेको वैद्यले बताए । यस्ता प्रणाली सामान्यतः स्पष्ट लेन, व्यवस्थित ट्राफिक र स्तरीय सडकको डेटाबाट प्रशिक्षित हुन्छन् । नेपालका अव्यवस्थित ट्राफिक, फरक भूगोल र कमजोर सडक संरचनाका लागि भने छुट्टै स्थानीय डेटा र अनुसन्धान आवश्यक पर्छ ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका प्रमुख सल्लाहकार सञ्जय पौडेलले प्रविधियुक्त गाडीको आयातसँगै त्यसको गुणस्तर, डेटा प्रयोग र साइबर सुरक्षाबारे स्पष्ट सरकारी व्यवस्था आवश्यक रहेको बताए । गाडीमा सफ्टवेयर, कनेक्टिभिटी र सेन्सरको प्रयोग बढेकाले त्यसबाट उत्पादन हुने डेटा कहाँ राख्ने र कसरी सुरक्षित गर्ने भन्ने विषयलाई नीतिमै समेट्नुपर्ने उनको भनाइ छ ।
नेपालले सबै प्रविधिमा एकैपटक लगानी गर्नुभन्दा आफ्नो आवश्यकता र आर्थिक क्षमताका आधारमा प्राथमिकता निर्धारण गर्नुपर्ने पौडेलले बताए । इनोभेसन ल्याब स्थापना, आधुनिक परीक्षण उपकरण र आवश्यक डिजिटल पूर्वाधार विकासलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीका सूचना प्रविधि निर्देशक डा. सुमन थापलियाले स्मार्ट गाडीको संख्या बढे पनि त्यसलाई बुझ्ने र मर्मत गर्ने जनशक्ति तयार नभएको औँल्याए । कलेज तथा विश्वविद्यालयको शिक्षामा एआई, साइबर सुरक्षा, एम्बेडेड सिस्टम, रोबोटिक्स, एज कम्प्युटिङ र अटोमोटिभ सफ्टवेयरलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
नेपाल एप्लाइड म्याथमेटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्चकी कार्यकारी निर्देशक सन्ध्या सिटौलाले एआईलाई रोजगारी खोस्ने प्रविधिका रूपमा मात्रै बुझ्न नहुने बताइन् । यसको प्रयोगले अनुसन्धान, विश्लेषण र सेवा प्रवाहलाई सहज बनाउन सक्ने भन्दै उनले अनुसन्धानलाई खर्च नभई दीर्घकालीन लगानीका रूपमा हेर्नुपर्ने धारणा राखिन् ।
नेपालमा स्मार्ट गाडी भित्र्याउनु मात्रै प्रविधिगत उपलब्धि नहुने संवादको निष्कर्ष छ । स्थानीय सडक सुहाउँदो डेटा, सुरक्षित डिजिटल पूर्वाधार, स्पष्ट नियमन र दक्ष जनशक्ति तयार नगरेसम्म गाडी स्मार्ट भए पनि त्यसको पूर्ण लाभ नेपाली चालकले लिन सक्ने छैनन् ।