नयाँ ईभी किन्ने सोचमा हुनुहुन्छ ? केही दिन पर्खनुको कारण बन्न सक्छ आर्कफक्स टी१
काठमाडौं । विद्युतीय गाडीको बजार
विस्तार भइरहेका बेला नेपाली ग्राहकका लागि अर्को नयाँ विकल्प थपिने भएको छ ।
पछिल्ला केही महिनायता लगातार नयाँ–नयाँ मोडल सार्वजनिक भइरहेका बेला अब मध्यम
मूल्यको खण्डमा पनि प्रतिस्पर्धा झन् रोचक बन्ने संकेत देखिएको छ ।
४० लाख रुपैयाँभन्दा कम मूल्यमा १८० मिलिमिटरभन्दा बढी ग्राउन्ड क्लियरेन्स भएको नयाँ विद्युतीय गाडी खोजिरहनुभएको छ भने तपाईंको ध्यान अब यो गाडी तर्फ जान सक्छ ।
यसपटक चर्चा भएको मोडल हो आर्कफक्स
टी१ । यो विद्युतीय क्रसओभर साउन २५ गते अर्थात् अगस्ट १० मा नेपाली बजारमा
औपचारिक रूपमा सार्वजनिक हुने तयारीमा रहेको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो
२०२६ सुरु हुनुभन्दा एक दिनअघि यसको सार्वजनिक कार्यक्रम तय गरिएको हो ।
नेपालका लागि बीएआईसी र यसको प्रिमियम
विद्युतीय ब्रान्ड आर्कफक्सको आधिकारिक वितरक लक्ष्मी मोटरहबले नयाँ टी१ सार्वजनिक
गर्ने तयारी गरेको हो । कम्पनीले यसमार्फत नेपालमा आफ्नो विद्युतीय गाडीको लाइनअप
थप विस्तार गर्नेछ ।
आकारका हिसाबले आर्कफक्स टी१
कम्प्याक्ट विद्युतीय क्रसओभर हो । यसमा ४ हजार ३ सय ३७ मिलिमिटर लम्बाइ, १ हजार ८
सय ५० मिलिमिटर चौडाइ र १ हजार ५ सय ७३ मिलिमिटर उचाइ रहने अनुमान छ । २ हजार ७ सय
५० मिलिमिटर ह्विलबेस र १८१ मिलिमिटर ग्राउन्ड क्लियरेन्सका कारण यसले सहर तथा
सामान्य नेपाली सडक प्रयोगको आवश्यकता सम्बोधन गर्ने अपेक्षा गर्न सकिन्छ ।
नेपालमा आउने टी१ मा अगाडिको एक्सलमा
जडान गरिएको परमानेंट म्याग्नेट सिन्क्रोनस मोटर रहने अनुमान गरिएको छ । यसले ७०
किलोवाट पावर र १७० न्युटन मिटर टर्क उत्पादन गर्न सक्नेछ । ऊर्जा आपूर्तिका लागि
४२.३ किलोवाट-आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री रहने अनुमान छ ।
यो गाडीले डब्लुएलटीसी मापदण्डमा करिब
३१० किलोमिटरसम्म रेन्ज दिन सक्ने जानकारी प्राप्त भएको छ । यसको अधिकतम गति
प्रतिघण्टा १४० किलोमिटरभन्दा बढी रहने अनुमान छ भने ३० देखि ८० प्रतिशतसम्म डिसी
फास्ट चार्ज गर्न करिब २५ मिनेट लाग्न सक्छ । ७ किलोवाट एसी चार्जरबाट पूर्ण चार्ज
हुन करिब ८ घन्टासम्म लाग्ने अनुमान गरिएको छ ।
सुरक्षातर्फ टी१ मा लेभल–२ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध हुन सक्नेछ । यसअन्तर्गत अडाप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फर्वार्ड कोलिजन वार्निङ, लेन डिपार्चर वार्निङ, ट्राफिक जाम असिस्ट तथा अटोमेटिक पार्किङजस्ता फिचर रहने अनुमान छ ।
यसमा १५.६ इन्च टचस्क्रिन, ६ स्पिकर
साउन्ड सिस्टम, ३६० डिग्री क्यामरा, पानोरामिक सनरुफ, इलेक्ट्रिक टेलगेट, फ्रेमलेस
विन्डो र १८ इन्च अलोय ह्विलजस्ता फिचर पनि उपलब्ध हुन सक्नेछन् ।
कम्पनीले टी१ को मूल्यसमेत सार्वजनिक
गरिसकेको छैन । तर, विशेष स्रोतबाट प्राप्त जानकारीअनुसार यसको मूल्य ४० लाख
रुपैयाँभन्दा तल राख्ने तयारी भइरहेको छ । यही मूल्यमा आएमा यसले बीवाइडी डल्फिन, प्रोटोन ई.मास ५ र चाँडै
सार्वजनिक हुने चेरी क्यू, लिपमोटर बी०३एक्सलगायत यही मूल्य समूहका अन्य विद्युतीय
गाडीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ ।
पछिल्लो समय नेपाली बजारमा ४० लाख
रुपैयाँ आसपासको विद्युतीय गाडी खण्ड सबैभन्दा प्रतिस्पर्धी बन्दै गएको छ ।
ग्राहकले अब केवल रेन्ज मात्र होइन, प्रविधि, सुरक्षा, केबिन स्पेस, चार्जिङ
क्षमता र बिक्रीपछिको सेवामा पनि ध्यान दिन थालेका छन् । यस्तो अवस्थामा आर्कफक्स
टी१ को आगमनले यही खण्डको प्रतिस्पर्धा थप रोचक बनाउन सक्छ ।
यद्यपि, माथि उल्लेख भएका भेरियन्ट, स्पेक्स, फिचर र मूल्यसम्बन्धी जानकारी प्रारम्भिक स्रोतमा आधारित अनुमान हुन् । कम्पनीले अगस्ट १० को सार्वजनिक कार्यक्रममा नेपालका लागि अन्तिम भेरियन्ट, फिचर, मूल्य तथा अन्य आधिकारिक विवरण सार्वजनिक गरेपछि मात्र यसको पूर्ण तस्वीर स्पष्ट हुनेछ ।