Newad1
Featured blog image

११ देखि १६ सिट, तीन सय ५० किलोमिटरसम्म रेन्ज : यस्ता छन् चेरी वान्डाका भ्यान

काठमाडौं । इन्धन खर्च घटाउँदै यात्रुवाहक व्यवसाय सञ्चालन गर्ने सोचमा रहेका व्यवसायीका लागि नेपाली बजारमा विद्युतीय भ्यानका विकल्प विस्तार हुन थालेका छन् । फरक यात्रु क्षमता र प्रयोगअनुसार छनोट गर्न मिल्ने केही नयाँ मोडलले यसपटकको नाइमा मोबिलिटी एक्स्पोमा ध्यान खिचेका छन् ।

चेरी वान्डाले एक्स्पोमा ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारी प्रदर्शनमा राखेको छ । कम्पनीले यी भ्यानलाई सार्वजनिक यातायातसँगै विद्यालय, कलेज, होटल तथा संस्थागत आवतजावतमा प्रयोग गर्न सकिने विकल्पका रूपमा प्रस्तुत गरेको हो ।

११ र १२ सिट क्षमताका भ्यानमा ४१.८६ किलोवाट घण्टाको ब्याट्री र ७० किलोवाट अधिकतम शक्ति दिने विद्युतीय मोटर जडान गरिएको छ । यी भ्यानले एकपटकको पूर्ण चार्जमा तीन सय किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । दुवै मोडलको भुइँदेखि गाडीको तल्लो भागसम्मको उचाइ १८० मिलिमिटर छ ।

ठूलो यात्रु क्षमता चाहिने ग्राहकका लागि ल्याइएको १४ सिटे भ्यानमा ५३.५८ किलोवाट घण्टाको ब्याट्री र ८० किलोवाटको मोटर दिइएको छ । यसको दाबी गरिएको रेन्ज तीन सय किलोमिटरसम्म छ भने भुइँ उचाइ २०० मिलिमिटर छ ।

१६ सिट क्षमताको मिनीबस भने दुई ब्याट्री तथा शक्ति विकल्पमा उपलब्ध छ । यसमा ५३.५८ वा ७० किलोवाट घण्टाको ब्याट्रीसँगै ८० वा १२० किलोवाट क्षमताको मोटर छनोट गर्न सकिन्छ । संस्करणअनुसार यसले एकपटकको चार्जमा २८० देखि तीन सय ५० किलोमिटरसम्म दूरी पार गर्ने कम्पनीले जनाएको छ । यसको भुइँ उचाइ २१० मिलिमिटर छ ।

यी सवारीको अर्को आकर्षण खरिदका लागि ल्याइएको वित्तीय योजना हो । कम्पनीका अनुसार ग्राहकले धितो नराखी हायर पर्चेज सुविधामार्फत भ्यान खरिद गर्न सक्नेछन् । यद्यपि अग्रिम भुक्तानी, ब्याजदर, कर्जा अवधि र मासिक किस्तासम्बन्धी विस्तृत सर्त भने सार्वजनिक गरिएको छैन ।

डिजेलबाट चल्ने भ्यानको इन्धन तथा नियमित मर्मत खर्च व्यावसायिक सञ्चालकका लागि ठूलो भार बन्ने गरेको छ । यस्तो अवस्थामा नियमित रुट, विद्यालय सेवा वा संस्थागत यातायातमा विद्युतीय भ्यानको प्रयोगले सञ्चालन खर्च घटाउन सक्ने सम्भावना छ । तर वास्तविक रेन्ज, चार्जिङ समय, सेवा सञ्जाल, ब्याट्रीको वारेन्टी र कर्जाका सर्त मूल्यांकन गरेर मात्र खरिद निर्णय गर्नु उपयुक्त हुनेछ ।

साउन ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने नाइमा मोबिलिटी एक्स्पोको हल ‘डी’स्थित १६ नम्बर स्टलमा यी सवारी अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।

footer