Newad1
Featured blog image

स्वचालित गाडी सुरक्षित छ कि छैन ? चीनले ल्यायो परीक्षणको नयाँ आधार

काठमाडौं । गाडी आफैं लेन समातेर अघि बढ्ने, ट्राफिकअनुसार गति घटाउने र कतिपय अवस्थामा चालकको हस्तक्षेपबिनै यात्रा अगाडि बढाउने प्रविधि तीव्र गतिमा फैलँदैछ । तर, यस्तो प्रविधि आएपछि सबैभन्दा ठूलो प्रश्न एउटै रहन्छ— गल्ती हुँदा जिम्मेवार को हुने र यात्रु कति सुरक्षित हुने ?

यही प्रश्नलाई केन्द्रमा राखेर चीनले उच्च तहको स्वचालित ड्राइभिङ भएका गाडीका लागि एकीकृत सुरक्षा आधार तय गरेको छ । नयाँ अनिवार्य राष्ट्रिय मापदण्ड सन् २०२७ जुलाई १ देखि कार्यान्वयनमा आउनेछ ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यो व्यवस्था तेस्रो र चौथो तहका स्वचालित ड्राइभिङ प्रणाली जडित यात्रुवाहक तथा मालवाहक गाडीमा लागू हुनेछ । स्वचालित पार्किङ प्रणालीलाई भने यसको दायराबाहिर राखिएको छ ।

नयाँ मापदण्डको मुख्य आधार स्पष्ट छ— गाडीको स्वचालित प्रणाली कम्तीमा पनि सतर्क र दक्ष चालकले गाडी चलाउँदाको जत्तिकै सुरक्षित हुनुपर्छ । प्रणालीले यात्रु, चालक वा सडक प्रयोगकर्ताका लागि अस्वाभाविक जोखिम सिर्जना गर्न नपाउने व्यवस्था गरिएको छ ।

तेस्रो तहको प्रणालीमा चालक पूर्ण रूपमा जिम्मेवारीमुक्त भने हुने छैन । गाडीले कुनै अवस्थामा चालकलाई नियन्त्रण फिर्ता लिन संकेत गर्न सक्छ । त्यसैले यस्तो गाडीमा चालक नियन्त्रण लिन तयार छ कि छैन भनेर निगरानी गर्ने छुट्टै व्यवस्था अनिवार्य गरिएको छ ।

गाडीको प्रणाली सुरु हुने, बन्द हुने वा नियन्त्रणबाट बाहिरिने अवस्थालाई पनि चालकले सहजै बुझ्न सक्ने गरी संकेत दिनुपर्नेछ । यसले गाडीले कुन अवस्थामा आफैं चलाइरहेको छ र कुन अवस्थामा चालकले नियन्त्रण सम्हाल्नुपर्छ भन्ने अन्योल घटाउने अपेक्षा गरिएको छ ।

यो नियम केवल गाडीको सफ्टवेयरमा सीमित छैन । उत्पादक कम्पनीले डिजाइनदेखि उत्पादन, बिक्रीपछिको निगरानी र सुधारसम्मको सुरक्षा जिम्मेवारी सम्हाल्नुपर्नेछ । जोखिम व्यवस्थापन, सुरक्षा सुनिश्चितता र निरन्तर सुधारका स्पष्ट प्रक्रिया तयार गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

मापदण्डअनुसार कम्पनीले गाडी बजारमा ल्याउनुअघि कम्प्युटर सिमुलेसन, परीक्षण ट्र्याक र वास्तविक सडकमा परीक्षण गर्नुपर्नेछ । त्यसपछि तेस्रो पक्षीय परीक्षण निकायले पनि सडक, ट्र्याक र सिमुलेसनमार्फत प्रणालीको सुरक्षा जाँच गर्नेछन् ।

चीनमा अहिले दोस्रो तहको चालक सहायता प्रविधियुक्त गाडी तीव्र रूपमा बढिरहेका छन् । मन्त्रालयका अनुसार यस वर्ष यात्रुवाहक गाडीमा यस्तो प्रणालीको पहुँच ७० दशमलव ५ प्रतिशत पुगेको छ । नेभिगेसनका आधारमा स्वचालित सहायतासहित चल्ने प्रविधिको पहुँच ३४ दशमलव २ प्रतिशत छ ।

चीनले सन् २०२५ डिसेम्बरमै केही यात्रुवाहक गाडीलाई तेस्रो तहको स्वचालित ड्राइभिङ अनुमति दिएको थियो । त्यसमा चाङआनको दिपाल र बीएआईसी समूहको आर्कफक्स ब्रान्डका मोडल पनि परेका छन् ।

footer