नेपाली बजारमा हाभलको नयाँ विद्युतीय एसयूभी, मूल्य कति ?
काठमाडौँ । नेपाली विद्युतीय एसयूभी बजारमा छोटो अन्तरालमै अर्को नयाँ विकल्प थपिएको छ । आकर्षक बनावट, नेपाली सडक सुहाउँदो उचाइ र आधुनिक सुरक्षात्मक सुविधाको संयोजनसहित आएको नयाँ गाडीले मध्यम मूल्यको विद्युतीय एसयूभी प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ ।
ग्रेट वाल मोटरले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ‘हाभल जोलियन म्याक्स’ सार्वजनिक गरेको हो । एक्स्पोका लागि यसको विशेष सुरुवाती मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
जोलियन म्याक्समा ५८.३ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार गाडीले एकपटकको पूर्ण चार्जमा ४२० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ । नेपालका उकालो, कच्ची तथा असमान सडकलाई ध्यानमा राख्दा यसको १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स पनि उपयोगी बन्न सक्छ ।
सुरक्षातर्फ यसमा एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, फर्वार्ड कोलिजन वार्निङ, अटोनोमस इमर्जेन्सी ब्रेकिङ र रियर क्रस ट्राफिक ब्रेकिङसहितको एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम दिइएको छ । चालकको थकान निगरानी गर्ने प्रणाली र गाडीमुनिको भाग पर्दामा हेर्न मिल्ने ट्रान्सपरेन्ट अन्डरबडी भ्यु पनि यसका उल्लेखनीय सुविधा हुन् ।
क्याबिनमा १४.६ इन्चको टचस्क्रिन, वायरलेस चार्जिङ, भ्वाइस रिकग्निसन र ६ वटा स्पिकर उपलब्ध छन् । भेरियन्टअनुसार प्यानोरामिक सनरुफ, अगाडिका तातो तथा चिसो हावा प्रवाह हुने सिट, विद्युतीय चालक सिट र एम्बियन्ट लाइटिङसमेत पाइनेछ ।
गाडीले ६.६ किलोवाटसम्मको एसी चार्जिङका साथै डीसी फास्ट चार्जिङलाई समर्थन गर्छ । यसमा रहेको भेहिकल–टु–लोड सुविधाबाट गाडीको ब्याट्री प्रयोग गरी बाह्य विद्युतीय उपकरणसमेत चलाउन सकिन्छ ।
नेपालका लागि जीडब्लूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालि हो । कम्पनीले ओरा–५ सार्वजनिक गरेको करिब एक महिनामै जोलियन म्याक्स ल्याउँदै आफ्नो विद्युतीय सवारीको दायरा विस्तार गरेको छ । कम्पनीका अनुसार नेपाल यो मोडल सार्वजनिक हुने विश्वकै दोस्रो बजार बनेको छ ।