Newad1
Featured blog image

रोयल एनफिल्डको किल्लामा होन्डाको प्रवेश, रिबेल ३०० र ५०० ले बढायो हलचल

काठमाडौं । भारतको प्रिमियम मोटरसाइकल बजारमा क्रुजर रोज्ने ग्राहकका लागि होन्डाले नयाँ विकल्पको संकेत दिएको छ । कम्पनीले रिबेल ३०० र रेबेल ५०० एकसाथ प्रदर्शन गरेपछि मध्यम क्षमताको क्रुजर सेग्मेन्टमा नयाँ चर्चा सुरु भएको हो ।

कम्पनीले दुवै मोटरसाइकलको मूल्य र निश्चित लन्च मिति खुलाएको छैन । तर रिबेल ५०० लाई यसअघि जस्तो पूर्ण आयातित युनिटका रूपमा नभई स्थानीय एसेम्बलीमार्फत ल्याउने तयारीले यसको मूल्य प्रतिस्पर्धी बन्न सक्ने अनुमान गरिएको छ ।

रिबेल ३०० मा २८६ सीसीको लिक्विड–कुल्ड, एकल सिलिन्डर इन्जिन रहनेछ । यसले करिब ३० हर्सपावर र २७.५ एनएम टर्क उत्पादन गर्ने अपेक्षा छ । ६–स्पिड गियरबक्स, ६९० मिमि सिट हाइट र हलुका संरचनाले यसलाई दैनिक प्रयोग तथा क्रुजर सेग्मेन्टमा नयाँ प्रवेश गर्ने राइडरका लागि सहज विकल्प बनाउनेछ ।

अर्कोतर्फ रिबेल ५०० मा ४७१ सीसीको लिक्विड–कुल्ड, दुई सिलिन्डर इन्जिन छ । यसले करिब ४६ हर्सपावर र ४३.३ एनएम टर्क उत्पादन गर्छ । ६–स्पिड गियरबक्स, डुअल–च्यानल एबीएस, ट्विन रियर सक एब्जर्बर र आरामदायी राइडिङ पोजिसन यसका मुख्य विशेषता हुन् ।

दुवै मोडलमा गोलाकार एलईडी हेडल्याम्प, टियरड्रप आकारको फ्युल ट्यांकी, कालो इन्जिन तथा एक्जस्ट, बाक्ला टायर र छोटो रियर फेन्डर दिइएको छ । यसले रिबेल सिरिजलाई परम्परागत क्रोमयुक्त क्रुजरभन्दा फरक, आधुनिक बोबर शैलीको पहिचान दिएको छ ।

रिबेल ३०० ले भारतमा रोयल एनफिल्ड मेटिओर ३५०, क्लासिक ३५० र जावा ३५० जस्ता मोडलसँग प्रतिस्पर्धा गर्न सक्छ । रिबेल ५०० को प्रतिस्पर्धा कावासाकी इलिमिनेटर, रोयल एनफिल्ड सुपर मेटिओर ६५० र सटगन ६५० जस्ता मोडलसँग हुने देखिन्छ ।

नेपालमा रिबेल ३०० वा रेबेल ५०० भित्र्याउने विषयमा आधिकारिक घोषणा भएको छैन । तर भारतमा स्थानीय एसेम्बलीसहित रिबेल ५०० सफल भए नेपालमा पनि यसको सम्भावना बढ्न सक्छ । जापानी रिफाइनमेन्ट, कम सिट हाइट र फरक बोबर डिजाइनका कारण यसले नेपाली प्रिमियम बाइक बजारमा छुट्टै ग्राहक समूह तान्न सक्नेछ ।

footer