भारतमै बन्ने हुन्डाईको नयाँ कम्प्याक्ट ईभी यही वर्ष सार्वजनिक हुँदै
काठमाडौं । भारतीय बजारमा साना र तुलनात्मक रूपमा पहुँचयोग्य इलेक्ट्रिक एसयूभीबीच प्रतिस्पर्धा तीव्र बन्दै गर्दा हुन्डाईले पनि यही सेग्मेन्टमा नयाँ गाडी उतार्ने तयारीलाई गति दिएको छ । यसअघि अर्को वर्षसम्म कुर्नुपर्ने भनिएको उक्त गाडी अब अपेक्षा गरिएभन्दा चाँडै देखिने भएको हो ।
हुन्डाईको नयाँ मेड–इन–इन्डिया
कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सन् २०२६ सकिनुअघि नै सार्वजनिक गरिने भएको छ ।
कम्पनीले यसअघि गाडीलाई मार्च २०२७ सम्म सार्वजनिक गर्ने समयसीमा अघि सारेको थियो
।
हुन्डाई मोटर इन्डियाका प्रबन्ध
निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत तरुण गर्गले नयाँ ईभीको तयारी पूरा भइसकेको
र यसको सार्वजनिक कार्यक्रम ढिलाइ नगरिने बताएका छन् । गाडी भारतको तमिलनाडुस्थित
श्रीपेरुम्बुदुर प्लान्टमा उत्पादन हुनेछ ।
‘एचई१आई’ कोडनेमबाट विकास भइरहेको
नयाँ मोडल हुन्डाईको ई–जीएमपी (के) प्लेटफर्ममा आधारित हुनेछ । अन्तर्राष्ट्रिय
बजारमा उपलब्ध इन्स्टर ईभीमा पनि यही प्लेटफर्म प्रयोग गरिएको छ ।
नयाँ कम्प्याक्ट ईभी स्ट्यान्डर्ड
रेन्ज र लङ रेन्ज गरी दुई विकल्पमा आउनेछ । यद्यपि यसको ब्याट्री क्षमता, मोटर
पावर, रेन्ज र मूल्यजस्ता मुख्य विवरण अझै सार्वजनिक गरिएको छैन ।
गाडीमा नयाँ पुस्ताको इन्फोटेनमेन्ट
सिस्टम र लेभल–२ असिस्टेड ड्राइभिङ टेक्नोलोजी रहने पुष्टि गरिएको छ । भारतीय
बजारमा यसले टाटा नेक्सन ईभी, महिन्द्रा एक्सयूभी थ्रीएक्सओ ईभी र किया सिरोस
ईभीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
अटोकार इन्डियाको रिपोर्ट अनुसार प्रारम्भिक उत्पादनमा एसभोल्टका ब्याट्री सेल प्रयोग गरिनेछ । एक्साइडबाट स्थानीय रूपमा उत्पादन हुने सेल समयमै उपलब्ध नहुने भएपछि गाडीको सार्वजनिक कार्यक्रम प्रभावित हुन नदिन हुन्डाईले यो विकल्प रोजेको हो ।
एक्साइडको उत्पादन तयार भएपछि भने
हुन्डाईले भारतमै बनेका ब्याट्री सेल प्रयोग गर्ने आफ्नो मूल योजनालाई अगाडि
बढाउनेछ । यसले गाडीमा स्थानीय रूपमा उत्पादित कम्पोनेन्टको हिस्सा बढाउँदै लागत
नियन्त्रणमा समेत सहयोग पुर्याउन सक्छ ।
हुन्डाईले आगामी एक वर्षभित्र भारतमा
हुने आफ्नो कुल घरेलु बिक्रीमा ईभीको हिस्सा सात प्रतिशतभन्दा माथि पुर्याउने
लक्ष्य राखेको छ । आर्थिक वर्ष २०२५–२६ मा कम्पनीको भारतीय बिक्रीमा ईभीको हिस्सा
करिब एक प्रतिशत मात्रै थियो ।
भारतमा उत्पादन हुने भएकाले यो मोडल
नेपाली बजारका लागि पनि चासोको विषय बनेको छ । नेपालमा हुन्डाईका भारत निर्मित
विभिन्न मोडल बिक्री हुँदै आएका छन् । भारतमै उत्पादन र ब्याट्रीको स्थानीयकरण
बढेमा नयाँ कम्प्याक्ट ईभीलाई प्रतिस्पर्धी मूल्यमा ल्याउने आधार तयार हुन सक्छ ।
तर हुन्डाईले यो गाडी नेपालमा ल्याउने विषयमा अहिलेसम्म कुनै औपचारिक घोषणा गरेको छैन । यसको नेपाल प्रवेशबारे निष्कर्ष निकाल्न भारतीय मूल्य, उत्पादन क्षमता, निर्यात योजना र नेपाली बजारका लागि कम्पनीले लिने निर्णय कुर्नुपर्नेछ ।