ईभी बजारको नयाँ समीकरण: टाटापछि महिन्द्रा, तेस्रो स्थानमा एमजी
काठमाडौं । विद्युतीय कारको बजार बढ्दै जाँदा सबै ब्रान्डले समान लाभ पाउने अपेक्षा गरिन्छ । तर भारतको पछिल्लो बजार तस्वीरले भने फरक संकेत दिएको छ । बिक्रीको आकार तीव्र गतिमा बढे पनि केही स्थापित कम्पनीहरू झन् बलिया बन्दै गएका छन् भने केहीको पकड कमजोर देखिन थालेको छ ।
जुलाईमा भारतमा
विद्युतीय यात्रुवाहक गाडीको दर्ता ३१ हजार १ सय ३८ पुगेको छ । यो अघिल्लो वर्षको
सोही महिनाको तुलनामा ७३ प्रतिशत बढी हो । तर बजारको सबैभन्दा रोचक पक्ष बिक्री
वृद्धिभन्दा पनि टाटा मोटर्स र महिन्द्रा एन्ड महिन्द्राले बनाएको बलियो पकड हो ।
नुभामाको बजार
प्रतिवेदनअनुसार टाटा मोटर्सले जुलाईमा १२ हजार ८ सय ९६ विद्युतीय गाडी दर्ता
गराएको छ । कम्पनीको बिक्री वार्षिक आधारमा ९२ प्रतिशतले बढ्दा बजार हिस्सा ४१
दशमलव ४ प्रतिशत पुगेको छ । एक वर्षअघि टाटाको हिस्सा ३७ दशमलव ४ प्रतिशत थियो ।
दोस्रो स्थानमा
रहेको महिन्द्राले ७ हजार ४ सय विद्युतीय गाडी दर्ता गराएको छ । महिन्द्राको
बिक्री अघिल्लो वर्षको जुलाईको तुलनामा १ सय ४५ प्रतिशतले बढेको छ । यससँगै
कम्पनीको बजार हिस्सा १६ दशमलव ८ प्रतिशतबाट बढेर २३ दशमलव ८ प्रतिशत पुगेको छ ।
टाटा र
महिन्द्राको संयुक्त बजार हिस्सा मात्रै जुलाईमा ६५ प्रतिशतभन्दा बढी पुगेको छ ।
यसले भारतको विद्युतीय कार बजार विस्तारसँगै केही ठूला ब्रान्डको नियन्त्रण पनि
तीव्र रूपमा बढिरहेको देखाउँछ ।
तेस्रो स्थानमा
रहेको एमजी मोटरले ५ हजार ४ सय ३० गाडी दर्ता गराए पनि उसको अवस्था भने दबाबमा
देखिएको छ । कम्पनीको बिक्री वार्षिक आधारमा ८ प्रतिशतले घटेको छ भने बजार हिस्सा
एक वर्षअघिको ३२ दशमलव ८ प्रतिशतबाट झरेर १७ दशमलव ४ प्रतिशतमा सीमित भएको छ ।
मारुती सुजुकीले
जुलाईमा १ हजार ५ सय ३ विद्युतीय गाडी दर्ता गर्दै चौथो स्थान बनाएको छ । हालै
भारतीय बजारमा प्रवेश गरेको भियतनामी ब्रान्ड भिनफास्टले १ हजार ४ सय ४८ गाडी
दर्ता गरी पाँचौँ स्थान लिएको छ ।
अन्य
ब्रान्डमध्ये बीवाईडीले ७ सय १३, ह्युन्डाईले ५ सय ३८ र कियााले ४ सय ४५ विद्युतीय
गाडी दर्ता गरेका छन् । टेस्लाको संख्या अझै सानो भए पनि जुनको तुलनामा यसको दर्ता
उल्लेख्य रूपमा बढेको प्रतिवेदनले देखाएको छ ।
चालु आर्थिक
वर्षको पहिलो चार महिनामा भारतमा १ लाख १९ हजार ३ सय ४३ विद्युतीय यात्रुवाहक गाडी
दर्ता भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९० प्रतिशत बढी हो ।
यद्यपि कुल यात्रुवाहक गाडी बजारमा विद्युतीय गाडीको हिस्सा जुलाईमा ७ दशमलव ७
प्रतिशतमै स्थिर रहेको छ ।
नेपालका लागि
पनि यो तथ्य अर्थपूर्ण छ । भारतीय बजारमा टाटा र महिन्द्राले ल्याउने नयाँ मोडल,
मूल्य रणनीति र उत्पादन क्षमताको प्रभाव केही समयपछि नेपाली बजारमा पनि देखिन सक्छ
। विशेषगरी मध्यम मूल्य समूहका ईभीमा ग्राहकको रोजाइ बढिरहेका बेला भारतको
प्रतिस्पर्धाले नेपालमा उपलब्ध मोडल र मूल्य निर्धारणलाई पनि प्रभावित गर्न सक्ने
सम्भावना छ ।
विद्युतीय गाडी
अब केवल सीमित ग्राहकको रोजाइमा बाँकी छैनन् । तर बजार बढ्दै जाँदा सफलता भने
मोडलको विविधता, सही मूल्य, विश्वसनीय सेवा सञ्जाल र ग्राहकको भरोसा जित्ने
ब्रान्डतर्फ केन्द्रित हुने संकेत देखिएको छ ।