Newad1
Featured blog image

भारतको ईभी बजारमा दोहोरो चित्र—वार्षिक छलाङ, मासिक गिरावट

काठमाडौं । भारतको अटो बजारमा विद्युतीय गाडीको विस्तारले नयाँ गति लिएको छ । मासिक बिक्रीमा सामान्य उतारचढाव देखिए पनि पछिल्लो आठ महिनाको तथ्यांकले इलेक्ट्रिक कार अब सीमित ग्राहकको रोजाइमा मात्रै नरहेको स्पष्ट संकेत गरेको छ ।

सन् २०२६ को जनवरीदेखि अगस्टसम्म भारतमा २ लाख १५ हजार ८७१ इलेक्ट्रिक प्यासेन्जर गाडी रिटेल भएका छन् । यो सन् २०२५ को पूरा वर्षमा बिक्री भएका १ लाख ९४ हजार ७३९ युनिटभन्दा २१ हजार १३२ युनिट बढी हो ।

अर्थात्, भारतले गत वर्ष १२ महिनामा हासिल गरेको इलेक्ट्रिक कार बिक्री यस वर्ष आठ महिनामै पार गरेको छ । अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा बिक्री ७९ प्रतिशतले बढेको छ ।

अगस्टमा मात्रै ३० हजार ४१८ इलेक्ट्रिक प्यासेन्जर गाडी ग्राहकसम्म पुगेका छन् । यो गत वर्षको अगस्टको तुलनामा ५१ प्रतिशत बढी हो । मासिक बिक्री लगातार तेस्रोपटक ३० हजार युनिटमाथि रहनुले भारतीय बजारमा इलेक्ट्रिक कारको माग विस्तार भइरहेको देखाउँछ ।

टाटा पहिलो, भिनफास्टले मारुतिलाई उछिन्यो

अगस्टको ब्रान्डगत बिक्रीमा टाटा मोटर्सले आफ्नो अग्रता कायम राखेको छ । कम्पनीले करिब १३ हजार ७० इलेक्ट्रिक गाडी बिक्री गर्दै बजारको झन्डै ४३ प्रतिशत हिस्सा ओगटेको छ । महिन्द्रा दोस्रो र जेएसडब्ल्यू एमजी मोटर तेस्रो स्थानमा रहेका छन् ।

सबैभन्दा रोचक परिवर्तन चौथो स्थानमा देखिएको छ । भिनफास्टले अगस्टमा २ हजार १९८ गाडी बिक्री गर्दै मारुती सुजुकीलाई पछि पारेको छ । कम्पनीको बिक्री जुलाईको तुलनामा करिब ४४ प्रतिशत बढेको हो ।

मारुती सुजुकीले सोही अवधिमा करिब १ हजार ४०५ ई–भिटारा बिक्री गरेको छ । लामो समयदेखि भारतीय प्यासेन्जर गाडी बजारमा नेतृत्व गरिरहेको मारुतीलाई नयाँ आएको भिनफास्टले इलेक्ट्रिक सेग्मेन्टमा उछिन्नु बजारमा बदलिँदो प्रतिस्पर्धाको संकेत हो ।

भिनफास्ट र सुजुकी ई–भिटारा दुवै नेपाली ग्राहकमाझ परिचित नाम भएकाले भारतमा देखिएको यो प्रतिस्पर्धा नेपालका लागि पनि चासोको विषय बन्न सक्छ ।

कारमा ७.६ प्रतिशत पुग्यो ईभीको हिस्सा

भारतको वाहन दर्ता तथ्यांकअनुसार अगस्टमा बिक्री भएका कुल प्यासेन्जर गाडीमध्ये इलेक्ट्रिकको हिस्सा ७.६ प्रतिशत पुगेको छ । इलेक्ट्रिक दुईपाङ्ग्रेको हिस्सा १०.७ प्रतिशत रहँदा एल–५ श्रेणीका प्यासेन्जर तीनपाङ्ग्रेमा ईभीको हिस्सा ५५.५ प्रतिशत पुगेको छ ।

कार्गो एल–५ तीनपाङ्ग्रेमा पनि विद्युतीय मोडलले ३१.४ प्रतिशत बजार ओगटेका छन् । यसले भारतको विद्युतीकरण प्यासेन्जर कारमा मात्र नभई दुईपाङ्ग्रे र तीनपाङ्ग्रेमा समेत तीव्र भइरहेको देखाउँछ ।

नेपालमा निजी प्यासेन्जर गाडीको विद्युतीकरण तुलनात्मक रूपमा निकै तीव्र देखिए पनि भारतमा भने ईभी विस्तारको ठूलो आधार दुईपाङ्ग्रे र तीनपाङ्ग्रे बनिरहेका छन् ।

वार्षिक वृद्धि बलियो, मासिक बिक्रीमा गिरावट

दीर्घकालीन तथ्यांकले तीव्र वृद्धि देखाए पनि अगस्टको बिक्री जुलाईभन्दा केही कमजोर रह्यो । भारतमा सबै श्रेणी जोडेर अगस्टमा २ लाख ९८ हजार ४८ विद्युतीय सवारी दर्ता भएका छन् । जुलाईमा यस्तो संख्या ३ लाख ३२ हजार २७४ थियो ।

इलेक्ट्रिक दुईपाङ्ग्रेको बिक्री जुलाईको २ लाख ५ हजार ६४० युनिटबाट घटेर अगस्टमा १ लाख ८३ हजार ७७ युनिटमा सीमित भएको छ । इलेक्ट्रिक प्यासेन्जर गाडीको कुल दर्ता पनि जुलाईको ३४ हजार ५१२ बाट अगस्टमा करिब ३० हजार ४२४ युनिटमा झरेको छ ।

यसको विपरीत इलेक्ट्रिक बसको बिक्री भने बढेको छ । जुलाईमा ५७५ ई–बस दर्ता भएकोमा अगस्टमा यो संख्या बढेर ९०८ युनिट पुगेको छ ।

यसले भारतको ईभी बजार लगातार एउटै गतिमा अघि नबढे पनि समग्र दिशा भने विस्तारतर्फै रहेको देखाउँछ । मासिक गिरावटका बाबजुद वार्षिक वृद्धि बलियो हुनु र आठ महिनामै अघिल्लो वर्षको कुल बिक्री पार हुनु यसको प्रमुख प्रमाण हो ।

नेपालका लागि किन महत्त्वपूर्ण ?

भारतमा इलेक्ट्रिक गाडीको उत्पादन र बिक्री बढ्नु नेपाली बजारसँग पनि प्रत्यक्ष जोडिन्छ । उत्पादन संख्या बढ्दै जाँदा कम्पनीलाई नयाँ मोडल विकास गर्न, सप्लाई चेन विस्तार गर्न र उत्पादन लागत घटाउन सहयोग पुग्छ । त्यसको प्रभाव भविष्यमा नेपाल आउने भारतीय उत्पादनका ईभीको मूल्य, उपलब्धता र डेलिभरी अवधिमा देखिन सक्छ ।

टाटा, महिन्द्रा, एमजी, सुजुकी र भिनफास्टजस्ता भारतीय बजारमा प्रतिस्पर्धा गरिरहेका अधिकांश ब्रान्ड नेपालमा पनि उपलब्ध छन् । भारतमा ईभी प्रतिस्पर्धा थप चर्किएसँगै यी कम्पनीमाथि नेपालका लागि पनि नयाँ मोडल, सुधारिएको ब्याट्री, बढी रेन्ज र प्रतिस्पर्धी मूल्य दिन दबाब बढ्नेछ ।

अगस्टको मासिक गिरावटले बजार सधैँ एउटै रफ्तारमा नबढ्ने देखाएको छ । तर आठ महिनामै गत वर्षभरको बिक्रीलाई उछिनेको तथ्यले भारतको अटो बजारमा विद्युतीय गाडी अब विकल्पबाट मूलधारतर्फ अघि बढिरहेको संकेत गर्छ ।

footer