दुर्गम कोरलाबाट बढ्दै अर्बौंको व्यापार, ईभी आयातले समात्यो गति
काठमाडौँ । चीनबाट नेपाल भित्रिने विद्युतीय गाडीका लागि वर्षौंदेखि प्रयोग हुँदै आएका उत्तरी नाकाको विकल्पमा अर्को मार्गले बलियो उपस्थिति देखाउन थालेको छ । कठिन भूगोलमा रहेको यही नाकाबाट गाडी आयात बढेसँगै चिनियाँ ईभी ल्याउने व्यवसायीका लागि नयाँ बाटो खुलेको हो ।
मुस्ताङस्थित कोरला नाका हुँदै गत
आर्थिक वर्षमा तीन हजारभन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन् । चालु
आर्थिक वर्षको पहिलो महिना साउनमा पनि यही नाकाबाट थप एक सय ईभी आयात भएका छन् ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख
विदुर चुडालका अनुसार अहिले कोरला नाकाबाट दैनिक औसत १० वटा कन्टेनरको भन्सार
जाँचपास भइरहेको छ । सवारीसाधनसँगै अन्य व्यापारिक वस्तुको आयात बढेपछि कार्यालयले
साउनमा कुल २९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षमा मुस्ताङ भन्सार
कार्यालयले कुल ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व उठाएको थियो । यो राजस्व ईभीसहित
नाकाबाट आयात भएका सम्पूर्ण व्यापारिक वस्तुको भन्सार जाँचपासबाट संकलन भएको हो ।
चिनियाँ विद्युतीय गाडी आयातका
लागि नेपाली व्यवसायी रसुवागढी र तातोपानी नाकामा बढी निर्भर रहँदै आएका छन् । यी
नाकामा चाप बढ्दा वा सडक अवरुद्ध हुँदा कोरलाले वैकल्पिक मार्गको भूमिका निर्वाह
गर्न थालेको छ ।
सडक र भन्सार पूर्वाधार थप व्यवस्थित भए कोरला नाका चीनसँगको व्यापारका साथै विद्युतीय गाडी आयातको भरपर्दो मार्गका रूपमा स्थापित हुन सक्ने देखिएको छ ।