एक लाखको मासिक आँकडा काट्दै लिपमोटरले के संकेत दियो ?
काठमाडौं । विद्युतीय सवारी बजारमा नयाँ नामका कम्पनीहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै जाँदा एक चिनियाँ ब्रान्डले जुलाईमा यस्तो आँकडा बनाएको छ, जसले उसको विस्तारको गति मात्र होइन, अबको दबाब पनि देखाएको छ । लगातार नयाँ मोडल र विदेश बजारमा बढ्दो उपस्थितिका बीच कम्पनीले मासिक बिक्रीको नयाँ उचाइ छोएको हो ।
लिपमोटरले जुलाईमा विश्वभर एक लाख
एक हजार दुई सय ६७ वटा सवारी ग्राहकलाई हस्तान्तरण गरेको जनाएको छ । यो कम्पनीको
इतिहासमै एक महिनामा भएको सबैभन्दा ठूलो बिक्री हो । अघिल्लो वर्षको सोही महिनाको
तुलनामा बिक्री एक सय दुई प्रतिशतले बढेको छ भने जुनको तुलनामा आठ दशमलव ४५
प्रतिशतको वृद्धि भएको छ ।
योसँगै लिपमोटरले लगातार चौथो
महिनामा मासिक बिक्री कीर्तिमान बनाएको छ । कम्पनीको बिक्री लगातार पाँच महिनादेखि
बढ्दो क्रममा रहेको देखिन्छ । जुनमा कम्पनीले ९३ हजार तीन सय ७६ वटा सवारी बिक्री
गरेको थियो ।
यस वर्षको पहिलो सात महिनामा
लिपमोटरको कुल बिक्री चार लाख ५७ हजार सात सय ५४ पुगेको छ । यो गत वर्षको सोही
अवधिको तुलनामा ६८ प्रतिशतभन्दा बढी हो । सन् २०२० मा पहिलो सवारी हस्तान्तरण
गरेयता कम्पनीको कुल बिक्री १६ लाख ५३ हजार आठ सय ५७ पुगेको तथ्यांक छ ।
तर, कीर्तिमानी जुलाईका बाबजुद
कम्पनीको वार्षिक लक्ष्य भेट्न अझै ठूलो दबाब छ । लिपमोटरले सन् २०२६ मा १० लाख
सवारी बिक्री गर्ने लक्ष्य राखेको छ । सात महिनामा लक्ष्यको करिब ४६ प्रतिशत मात्र
पूरा भएको छ । बाँकी पाँच महिनामा लक्ष्य भेट्न कम्पनीले हरेक महिना औसत एक लाख आठ
हजारभन्दा बढी सवारी बिक्री गर्नुपर्नेछ, जुन जुलाईको कीर्तिमानी बिक्रीभन्दा पनि
माथि हो ।
यसका लागि कम्पनीले नयाँ मोडल र
उत्पादन सुधारलाई मुख्य हतियार बनाएको छ । उसले जुनमा सी१०, सी११ र सी१६ का नयाँ
संस्करण बजारमा ल्याएको थियो भने आफ्नो पहिलो बहुउद्देश्यीय सवारी डी९९ पनि
सार्वजनिक गरेको थियो । जुलाईमा बी०१ सेडान र बी१० एसयूभीका नयाँ संस्करण आएका छन्
। लामो दूरीका यी संस्करणमा ८०० भोल्टको तीव्र चार्जिङ प्रविधि प्रयोग गरिएको छ ।
कम्पनीले ए०५ नामको सानो
विद्युतीय कारको अग्रिम बुकिङसमेत खुला गरेको छ । यो मोडलले बीवाईडी डल्फिन र जिली
सिङयुआनजस्ता लोकप्रिय साना विद्युतीय कारसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ
। व्यवस्थापनले नयाँ मोडलहरूबाट यस वर्षको कुल बिक्रीको ६० प्रतिशत हिस्सा आउने
अनुमान गरेको छ ।
विदेश बजार पनि लिपमोटरको वृद्धिको
अर्को आधार बनेको छ । कम्पनीका अनुसार पहिलो छ महिनामा विदेश बिक्रीको हिस्सा करिब
३० प्रतिशत पुगेको छ । जुलाई अन्त्यमा उसले इन्डोनेसियामा स्थानीय एसेम्बली सुरु
गर्ने घोषणा गरेको थियो । इन्डोमोबिल समूहअन्तर्गतको कम्पनीमार्फत त्यहाँ गाडी
जोडिनेछन् र पहिलो हस्तान्तरण अगस्टबाट हुने अपेक्षा छ ।
मलेसियापछि इन्डोनेसियामा पनि
स्थानीय उत्पादन सुरु हुनुले दक्षिणपूर्वी एसियामा लिपमोटरको पकड बलियो बनाउने
संकेत दिएको छ । अहिले कम्पनी ४० भन्दा बढी देशमा फैलिएको छ र उसका दुई हजारभन्दा
बढी बिक्री केन्द्र सञ्चालनमा छन् ।
नेपालमा लिपमोटर बी१० जस्ता
मोडलप्रति चासो बढिरहेको बेला कम्पनीको विश्वव्यापी बिक्री विस्तारले भविष्यमा
नयाँ मोडल तथा मूल्य प्रतिस्पर्धाको सम्भावना बलियो बनाएको छ । तर, एक लाखको मासिक
आँकडा पार गरिसकेपछि कम्पनीले अब यसलाई निरन्तर कायम राख्न सक्छ कि सक्दैन भन्ने
प्रश्न अझ महत्त्वपूर्ण बनेको छ ।