Newad1
Featured blog image

तीन लाख वर्गफिटमा नेपालको बदलिँदो अटो उद्योग देखाउँदै छौँ

काठमाडौं । नयाँ गाडीको चमक, आकर्षक मूल्य र आधुनिक फिचरले अटो शोमा सबैभन्दा पहिले ध्यान तान्छन् । तर गाडी घर लगेपछि सुरु हुने लामो यात्रामा टायर, ब्याट्री, सर्भिस, स्पेयर पार्ट्स, बैंक र बिमाले कति ठूलो भूमिका खेल्छन् भन्ने बुझ्ने अवसर भने कमै पाइन्छ ।

भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ ले यसपटक गाडी बिक्री गर्ने ब्रान्डसँगै बिक्रीपछिको सम्पूर्ण अटोमोबाइल उद्योगलाई एउटै छानामुनि ल्याउने भएको छ ।

करिब तीन लाख वर्गफिटमा फैलिने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन् । आयोजकका अनुसार २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ सवारी ब्रान्ड सहभागी हुनेछन् ।

प्रदर्शनीको अर्को महत्त्वपूर्ण पक्ष करिब ७० वटा अटो पार्ट्स, उपकरण तथा सेवा प्रदायक कम्पनीको सहभागिता हो । यी कम्पनीले टायर, ब्याट्री, इन्जिन आयल, हेलमेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डाइग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस, टेलिमेटिक्स सिस्टम, एसेसरिज र ईभी चार्जिङ उपकरण प्रदर्शन गर्नेछन् ।

करिब १० बैंक, वित्तीय संस्था र बिमा कम्पनीले अटो लोन, सवारी बिमा तथा विद्युतीय गाडीका लागि तयार गरिएका विशेष वित्तीय योजना पनि प्रस्तुत गर्नेछन् । यसले ग्राहकलाई गाडीको मूल्य मात्रै होइन, कर्जा, बिमा र दीर्घकालीन सञ्चालन खर्चसमेत एउटै भ्रमणमा बुझ्ने अवसर दिनेछ ।

प्रदर्शनीलाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स र ग्यारेज उपकरणका छुट्टाछुट्टै क्षेत्रमा विभाजन गरिएको छ । ग्राहकले गाडी रोजेसँगै त्यसको सर्भिस नेटवर्क, स्पेयर पार्ट्सको उपलब्धता, टायरको मूल्य, बिमा सुविधा र कर्जाको सर्तसमेत तुलना गर्न सक्नेछन् ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार अटो शोको ठूलो हिस्सा गाडीलाई वर्षौंसम्म चलाइराख्न सहयोग गर्ने उद्योगले ओगटेको छ । “अटो शो भन्नेबित्तिकै गाडीले भरिएको हल सम्झिइन्छ । तर गाडीलाई लामो समयसम्म चलाइराख्ने उद्योग पनि उत्तिकै ठूलो छ र त्यो पक्षसमेत देखिनुपर्छ,” उनले भने ।

प्रदर्शनीमा विभिन्न देशका सवारी ब्रान्डलाई नजिकबाट तुलना गर्ने अवसर पनि उपलब्ध हुनेछ । स्कोडा, प्रोटोन, चेरीअन्तर्गतका ओमोडा तथा जेकु, जीडब्ल्यूएमसहित जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली र चिनियाँ मूलका सवारीसाधन एउटै परिसरमा रहनेछन् ।

विदेशी सहभागीका लागि इन्टरनेसनल बिजनेस प्याभिलियन तथा स्वदेशी उत्पादन र एसेम्बलीलाई प्राथमिकता दिन ‘मेड इन नेपाल, मेड फर नेपाल’ प्याभिलियन छुट्याइएको छ ।

पचास वर्षअघि एउटा कोठामा सीमित नेपालको अटो प्रदर्शनी अहिले तीन लाख वर्गफिटमा विस्तार भएको छ । यो परिवर्तन गाडीको संख्या बढेको संकेत मात्र होइन, त्यसलाई कर्जा दिने, बिमा गर्ने, मर्मत गर्ने र वर्षौंसम्म सडकमा चलाइराख्ने समग्र उद्योग विस्तार भएको प्रमाण पनि हो ।

footer