Newad1
Featured blog image

गाडी नकिन्नेका लागि पनि विशेष, नाडा अटो शोका पाँच आकर्षण

काठमाडौँ । भृकुटीमण्डपमा केही दिनपछि देखिने भीड नयाँ गाडी हेर्न चाहनेहरूको मात्रै हुने छैन । गाडी किन्ने योजना बनाइरहेका ग्राहकदेखि नयाँ प्रविधि, कर्जा सुविधा र नेपाली अटो बजारको बदलिँदो स्वरूप बुझ्न चाहनेसम्मका लागि यसपटकको नाडा अटो शो विशेष बन्ने देखिएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा १८औँ नाडा अटो शो स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना गर्दै छ । प्रदर्शनी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

करिब तीन लाख वर्गफिट क्षेत्रमा फैलिने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन् । यहाँ २३ यात्रुवाहक गाडी, १७ साना तथा मझौला व्यावसायिक सवारी र १३ दुईपाङ्ग्रे ब्रान्ड सहभागी हुनेछन् । पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक, वित्तीय संस्था र बिमा कम्पनीको समेत उपस्थिति रहनेछ ।

१. करिब ४० नयाँ मोडल एकै ठाउँमा

यस संस्करणमा विभिन्न कम्पनीले करिब ४० नयाँ मोडल तथा उत्पादन सार्वजनिक गर्ने तयारी गरेका छन् । केही गाडी नेपालमा पहिलोपटक देखाइनेछन् भने केहीको मूल्य, भेरियन्ट र बुकिङसम्बन्धी जानकारी प्रदर्शनीबाट खुल्नेछ ।

अलग–अलग शोरुम धाउनुपर्ने झन्झटबिना विभिन्न ब्रान्डका गाडीको डिजाइन, केबिन, फिचर र निर्माण गुणस्तर प्रत्यक्ष हेर्न पाउनु यसको मुख्य आकर्षण हुनेछ ।

२. एउटै बजेटका गाडी तुलना गर्ने अवसर

नेपाली बजारमा अहिले एउटै मूल्य समूहभित्र धेरै विद्युतीय तथा इन्धन गाडी उपलब्ध छन् । बाहिरबाट उस्तै देखिने गाडीबीच ब्याट्री क्यापासिटी, रेन्ज, ग्राउन्ड क्लियरेन्स, सुरक्षा फिचर, वारेन्टी र बिक्रीपछिको सेवामा ठूलो अन्तर हुन सक्छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सहभागी भएका १३ सवारी ब्रान्ड नाडामा पनि दोहोरिँदै छन् । यसले अघिल्लो प्रदर्शनीमा गाडी हेरेका वा बुकिङ गरेका ग्राहकलाई नयाँ मूल्य, सुविधा र अफर पुनः तुलना गर्ने अवसर दिनेछ ।

३. छुटदेखि कर्जा योजनासम्म बुझ्न सकिने

अटो शोका अवसरमा कम्पनीहरूले नगद छुट, पुरानो गाडी सटही, निःशुल्क बिमा, सडक कर, चार्जर, एसेसरिज तथा विस्तारित वारेन्टीजस्ता योजना ल्याउने गर्छन् ।

यसपटक १० बैंक, वित्तीय संस्था तथा बिमा कम्पनी सहभागी हुने भएकाले ग्राहकले डाउनपेमेन्ट, ब्याजदर, मासिक किस्ता, ऋण अवधि र बिमा शुल्क एकै ठाउँमा बुझ्न सक्नेछन् ।

अफर हेरेर मात्रै निर्णय गर्नु भने उचित हुँदैन । छुटपछि तिर्नुपर्ने वास्तविक मूल्य, ऋणको कुल ब्याज र अन्य शुल्कसमेत जोडेर अन्तिम लागत तुलना गर्नुपर्छ ।

४. रोबोट र नयाँ मोबिलिटी प्रविधिको आकर्षण

यसपटक गाडीसँगै प्रविधिको फरक आकर्षण पनि रहनेछ । प्रदर्शनीमा मानवजस्तै गतिविधि गर्न सक्ने जी–वान ह्युमनोइड रोबोट र चार खुट्टामा हिँड्ने गो–टु रोबोट कुकुरसमेत राखिने तयारी छ ।

विद्युतीय गाडी, स्मार्ट कनेक्टिभिटी, चार्जिङ समाधान र दिगो मोबिलिटीसम्बन्धी प्रविधि पनि हेर्न पाइनेछ । स्मार्ट मोबिलिटी तथा अटो क्षेत्रको भविष्यसम्बन्धी छलफल र अन्तरक्रियाले प्रदर्शनीलाई जानकारी आदानप्रदानको थलोसमेत बनाउनेछ ।

५. नेपालमै बनेका अटो सामग्रीको प्रदर्शनी

नाडा अटो शोमा आयातित गाडी मात्रै होइन, नेपालमै उत्पादन वा एसेम्बल भएका सवारीसाधन, ल्युब्रिकेन्ट, ब्याट्री, हेल्मेट तथा अन्य अटो सामग्रीलाई पनि स्थान दिइनेछ ।

करिब ७० कम्पनीले स्पेयर पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, एसेसरिज र ग्यारेज उपकरण प्रदर्शन गर्नेछन् । त्यसैले यो मेला ग्राहकसँगै व्यवसायी, टेक्निसियन र वर्कसप सञ्चालकका लागि पनि उपयोगी हुनेछ ।

नाडा अटो शो तत्काल गाडी किन्नेका लागि मात्रै होइन । भविष्यमा गाडी किन्ने योजना बनाइरहेका, बजारको मूल्य बुझ्न चाहने वा नयाँ प्रविधि नजिकबाट हेर्न चाहनेका लागि समेत यो प्रदर्शनी उपयोगी बन्न सक्छ ।

छ दिनसम्म चल्ने प्रदर्शनी बिहान साढे १० देखि साँझ साढे ६ बजेसम्म खुला रहनेछ । आयोजकले करिब दुई लाख अवलोकनकर्ता आउने अनुमान गरेको छ ।

footer