Newad1
Featured blog image

भृकुटीमण्डपमा नाडाको चटारो, तयार हुँदै २०० भन्दा बढी स्टल

काठमाडौं । केही दिनपछि नयाँ गाडी र मोबिलिटी प्रविधिले भरिने भृकुटीमण्डप अहिले निर्माण सामग्री, कामदार र टेक्निसियनको चहलपहलले व्यस्त बनेको छ । कतै स्टलको संरचना उठाइँदै छ भने कतै लाइटिङ, डिजिटल डिस्प्ले र ब्रान्डिङलाई अन्तिम रूप दिने काम भइरहेको छ ।

भदौ ९ गतेदेखि सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ का लागि प्रदर्शनीस्थलमा २०० भन्दा बढी स्टल तयार पारिँदै छन् । करिब तीन लाख वर्गफिट क्षेत्रमा फैलिने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यसपटक यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा ब्रान्ड सहभागी हुनेछन् । नयाँ गाडी र विद्युतीय सवारीसँगै चार्जिङ पूर्वाधार तथा मोबिलिटीसँग जोडिएका नयाँ प्रविधि पनि प्रदर्शनीमा देख्न पाइनेछ ।

अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज र ग्यारेज उपकरणका लागि मात्रै करिब ७० वटा स्टल छुट्याइएको छ । बैंक, वित्तीय संस्था र बिमा कम्पनीले समेत आफ्ना सेवा तथा सवारी कर्जाका योजना प्रस्तुत गर्नेछन् ।

प्रदर्शनी सुरु हुनुअघि प्रत्येक ब्रान्डले आफ्नो स्टललाई आकर्षक र फरक देखाउने प्रयास गरिरहेका छन् । त्यसका लागि संरचना निर्माणसँगै इलेक्ट्रिकल सिस्टम, लाइटिङ, डिजिटल डिस्प्ले र अन्य व्यवस्थापनका काम समानान्तर रूपमा अघि बढाइएको छ ।

नाडाको स्थापनाको ५०औँ वर्षसँग जोडिएको यस संस्करणमा ‘मेड इन नेपाल र मेड फर नेपाल’ पभेलियन पनि रहनेछ । उक्त पभेलियनमा नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन, ईभी, ब्याट्री, हेल्मेट तथा अटोमोबाइल कम्पोनेन्ट प्रदर्शन गरिनेछ ।

स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुन लागेको अटो शो भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा चल्नेछ । स्टल निर्माणले गति लिएसँगै प्रदर्शनीस्थल नेपालको अटोमोबाइल बजारका नयाँ मोडल, प्रविधि र व्यावसायिक गतिविधिको ठूलो मञ्च बन्न तयार हुँदै छ ।

footer