आजदेखि अटो बजारको ध्यान भृकुटीमण्डपमा, सुरु हुँदै नाडा अटो शो
काठमाडौं । नयाँ गाडी हेर्ने, विभिन्न मोडल तुलना गर्ने वा नेपाली अटो उद्योगले समातेको पछिल्लो गति बुझ्ने योजना छ भने भृकुटीमण्डप अबको छ दिन विशेष रहनेछ । सवारीसाधनदेखि भविष्यको मोबिलिटी टेक्नोलोजीसम्मलाई एउटै छानामुनि ल्याउने ठूलो प्रदर्शनी आजबाट खुल्दै छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ
नेपालले आयोजना गरेको १८औँ नाडा अटो शो २०२६ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु
हुँदै छ । नाडाको ५०औँ वार्षिकोत्सवसमेत परेकाले यसपटकको प्रदर्शनीलाई ‘गोल्डेन
जुबिली एडिसन’का रूपमा आयोजना गरिएको हो ।
एचपी ल्युब्रिकेन्ट्स
प्रस्तुतकर्ता रहेको अटो शो भदौ १४ गतेसम्म सञ्चालन हुनेछ । करिब तीन लाख वर्गफिट
क्षेत्रमा फैलिएको प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।
अटो शोमा २३ प्यासेन्जर भेहिकल,
१७ लाइट कमर्सियल भेहिकल र १३ दुईपाँग्रे ब्रान्ड सहभागी हुँदै छन् । विभिन्न
ब्रान्डले नयाँ मोडल सार्वजनिक गर्नुका साथै हालै नेपाली बजारमा आएका गाडीसमेत
प्रदर्शन गर्नेछन् ।
अवलोकनकर्ताले पेट्रोल, हाइब्रिड
र विद्युतीय गाडीलाई एकै स्थानमा हेरेर मूल्य, फिचर र भेरियन्ट तुलना गर्न
सक्नेछन् । गाडी खरिद गर्न चाहने ग्राहकले उपलब्ध छुट, सटही, बिमा तथा कर्जा
सुविधाबारे पनि जानकारी लिन सक्नेछन् ।
प्रदर्शनीमा करिब ७० स्टल अटो
पार्ट्स, स्पेयर पार्ट्स, टायर, ल्युब्रिकेन्ट्स, एसेसरिज र ग्यारेज उपकरणका लागि
छुट्याइएको छ । बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीका १० वटा स्टलसमेत रहनेछन् ।
यसपटक ‘मेड इन नेपाल/मेड फर
नेपाल’ प्याभिलियनमार्फत नेपालमै उत्पादन वा एसेम्बल भएका सवारीसाधन, ब्याट्री,
ल्युब्रिकेन्ट्स, हेल्मेट तथा अन्य अटो सामग्रीलाई विशेष स्थान दिइएको छ ।
जी१ ह्युमनोइड रोबोट र गो२
क्वाड्रुपेड रोबोट प्रदर्शनीका थप आकर्षण रहनेछन् । अटो शो अवधिमा स्मार्ट
मोबिलिटी, दिगो अटो उद्योग र कनेक्टिभिटीसम्बन्धी छलफलसमेत आयोजना हुनेछ ।
छ दिन चल्ने प्रदर्शनीमा करिब दुई लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । अटो शो प्रत्येक दिन बिहान साढे १० बजेदेखि सर्वसाधारणका लागि खुला रहनेछ ।