Newad1
Featured blog image

नाडा अटो शो चलिरहँदा बाढीपीडितलाई १० लाख सहयोगको घोषणा

काठमाडौं । देशका विभिन्न भागमा बाढीले जनधनको ठूलो क्षति पुर्‍याइरहेका बेला अटोमोबाइल व्यवसायीको छाता संस्था प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा जोडिएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले रसुवासहितका जिल्लामा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको हो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने नाडाले जनाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा भएको मानवीय तथा भौतिक क्षतिप्रति नाडाले दुःख व्यक्त गरेको छ । ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।

विपद्को समयमा राज्यसँगै उभिनु निजी क्षेत्रको पनि दायित्व भएको उल्लेख गर्दै नाडाले देशभरका अटोमोबाइल व्यवसायीलाई उद्धार तथा राहत अभियानमा सहयोग गर्न आह्वान गरेको छ ।

यसैबीच, काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ भने निरन्तर सञ्चालन हुने भएको छ । विपद्सँग जुध्दै आर्थिक गतिविधिलाई पनि चलायमान राख्नुपर्ने भएकाले अटो शो सञ्चालनलाई निरन्तरता दिइएको नाडाको भनाइ छ ।

नाडाले सरकार, निजी क्षेत्र, व्यवसायी र नागरिकको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा पुनर्निर्माण प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरेको छ ।

footer