नेपाली अटो बजार सुस्त छैन भन्ने सन्देश, नाइमा एक्स्पोमा उत्साहजनक भीड
काठमाडौँ । नयाँ सवारीसाधन हेर्ने, प्रविधि बुझ्ने र आफ्नो आवश्यकताअनुसारको विकल्प रोज्ने उत्साहले छ दिनसम्म भृकुटीमण्डप भरिभराउ बन्यो । अपेक्षाभन्दा ठूलो सहभागिता र बजारमा देखिएको नयाँ चासोसहित यस वर्षको प्रमुख मोबिलिटी प्रदर्शनी सम्पन्न भएको छ ।
साउन २६ गते सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी भएका छन् । आयोजकले छ दिनमा डेढ लाख अवलोकनकर्ता आउने अनुमान गरेको थियो । तर पाँचौँ दिनमै उक्त लक्ष्य पूरा गर्दै अन्तिम दिनसम्म सहभागिता अनुमानभन्दा करिब ३० हजारले बढी भएको हो ।
समापनका दिन मात्रै ३० हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए । उद्घाटनको दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार र पाँचौँ दिन शनिबार ४२ हजारभन्दा बढी अवलोकनकर्ता भृकुटीमण्डप पुगेका थिए ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजना गरेको एक्स्पोमा ५५ भन्दा बढी स्वदेशी तथा बहुराष्ट्रिय ब्रान्ड सहभागी थिए । प्रदर्शनी अवधिमा विभिन्न ब्रान्डका ५३ नयाँ उत्पादन सार्वजनिक गरिएका छन् ।
नाइमा अध्यक्ष रितु सिंह वैद्यले ठूलो संख्यामा ब्रान्ड र अवलोकनकर्ताको सहभागिता हुनु समग्र मोबिलिटी उद्योगकै साझा उपलब्धि भएको बताइन् । नयाँ सवारीसाधनको प्रदर्शनीमा मात्र सीमित नभई प्रविधि, ज्ञान र सिकाइलाई समेत प्राथमिकता दिइएकाले एक्स्पोले फराकिलो स्वरूप लिएको उनको भनाइ छ ।
अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाका अनुसार प्रदर्शनीमा अपेक्षाभन्दा धेरै अवलोकनकर्ता आउनुका साथै सवारीसाधनसम्बन्धी सोधपुछ र बुकिङसमेत उत्साहजनक रह्यो । नाइमा बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले प्रदर्शनीको सफलताले समग्र अटोमोबाइल उद्योगमा सकारात्मक सन्देश दिएको बताए ।
नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटी अध्यक्ष आकाश गोल्छाले एक्स्पोलाई ‘सुपरहिट’को संज्ञा दिए । कार्यकारी निर्देशक राजकुमार दुलालले अवलोकनकर्ताको प्रतिक्रिया र सन्तुष्टि नै प्रदर्शनी सफलताको मुख्य मापक बनेको बताए ।
एक्स्पोमा सवारीसाधन तथा नयाँ प्रविधिको प्रदर्शनसँगै मोबिलिटी, वित्तीय सेवा, बिमा, आर्टिफिसियल इन्टेलिजेन्स, अटोमोटिभ प्रविधि, सीप विकास र उद्यमशीलतासम्बन्धी संवाद तथा सिकाइ सत्र सञ्चालन गरिएका थिए । नीति निर्माता, उद्योगी, प्राध्यापक, इन्जिनियर र विज्ञहरूको सहभागिताले प्रदर्शनीलाई सवारी किनबेचको थलोभन्दा फराकिलो बनाएको आयोजकको भनाइ छ ।
विद्युतीय सवारीको बढ्दो उपस्थिति, नयाँ मोडलप्रतिको चासो र ब्रान्डबीचको प्रतिस्पर्धाले नेपाली अटो बजारमा ग्राहकको रुचि कायमै रहेको संकेत गरेको छ । मूल्य, रेन्ज, ब्याट्री, फिचर, बिक्रीपछिको सेवा र कर्जा सुविधाबारे जानकारी लिन पुगेका अवलोकनकर्ताको भीडले नेपालमा नयाँ प्रविधियुक्त मोबिलिटीप्रतिको आकर्षणसमेत उजागर गरेको छ ।
दिगो, हरित र प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको यो नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करण हो । आयोजकले यस वर्ष प्राप्त सहभागितालाई आगामी संस्करण अझ व्यवस्थित, ठूलो र प्रभावकारी बनाउने आधारका रूपमा लिएको छ ।