भारु ६ लाख ९ हजार ९०० बाट नयाँ बलेनो, शीर्ष भेरियन्टमा राडार र क्यामेरा
काठमाडौं । भारतको प्रिमियम ह्याचब्याक बजारमा लामो समयदेखि बलियो उपस्थिति बनाएको मारुति सुजुकी बलेनो नयाँ स्वरूपमा सार्वजनिक भएको छ । बाहिरी डिजाइनमा सामान्य परिमार्जन गरिएको नयाँ बलेनोमा इन्जिन, सुरक्षा र आरामदायी सुविधामा भने उल्लेखनीय सुधार गरिएको छ ।
सन् २०२२ मा आएको दोस्रो पुस्ताको पहिलो फेसलिफ्टका रूपमा सार्वजनिक गरिएको यसको प्रारम्भिक एक्स–शोरुम मूल्य भारु ६ लाख ९ हजार ९०० तोकिएको छ । कम्पनीले अन्य भेरियन्टको विस्तृत मूल्यसूची भने सार्वजनिक गरिसकेको छैन ।
नयाँ बलेनोमा पुरानो १.२ लिटर चार-सिलिन्डर के–सिरिज इन्जिन हटाएर स्विफ्ट र डिजायरमा प्रयोग भइरहेको १.२ लिटर जेड१२ई तीन-सिलिन्डर पेट्रोल इन्जिन राखिएको छ । यसले ८२.९३ पीएस शक्ति र ११२.४ एनएम टर्क उत्पादन गर्छ ।
पाँच-स्पिड म्यानुअल र पाँच-स्पिड एएमटी गियरबक्समा उपलब्ध यसको प्रमाणित माइलेज क्रमशः प्रतिलिटर २३.८० र २४.७७ किलोमिटर छ । सीएनजी मोडलले ६९.७५ पीएस शक्ति र १०१.८ एनएम टर्क उत्पादन गर्दै प्रतिकिलोग्राम ३३.६१ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
नयाँ बलेनो सिग्मा, डेल्टा, जेटा, अल्फा र अल्फा (ओ) गरी पाँच भेरियन्टमा उपलब्ध हुनेछ । लेभल–२ एडास भने नयाँ शीर्ष भेरियन्ट अल्फा (ओ) मा मात्रै पाइनेछ ।
यसको एडास प्रणालीमा एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट, लेन डिपार्चर वार्निङ, फर्वार्ड कोलिजन वार्निङ र एड्भान्स्ड इमर्जेन्सी ब्रेकिङजस्ता सुविधा समावेश छन् । क्यामेरा र मिलिमिटर–वेभ राडारमा आधारित प्रणालीले गाडी, मोटरसाइकल, साइकल तथा पैदलयात्री पहिचान गरेर सम्भावित दुर्घटना रोक्न सहयोग गर्नेछ ।
मारुतिले नयाँ बलेनोका सबै भेरियन्टमा ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल होल्ड असिस्ट, एबीएस, ईबीडी, ब्रेक असिस्ट र रिभर्स पार्किङ सेन्सरलाई स्ट्यान्डर्ड बनाएको छ । डेल्टादेखि माथिका भेरियन्टमा टायर प्रेसर मोनिटरिङ सिस्टम उपलब्ध छ ।
फिचरतर्फ माथिल्ला भेरियन्टमा भेन्टिलेटेड अगाडिका सिट, सक्रिय कुलिङसहित वायरलेस चार्जर, नौ इन्चको टचस्क्रिन, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, हेड–अप डिस्प्ले र ३६० डिग्री क्यामेरा दिइएको छ ।
डिजाइनमा ठूलो नेक्सवे ग्रिल, परिमार्जित बम्पर, नयाँ अलोय ह्विल, फेन्डर क्रोम गार्निस र सार्क–फिन एन्टेना थपिएका छन् । गाडीको मूल आकार तथा हेडल्याम्प र टेलल्याम्पको परिचित स्वरूप भने कायम राखिएको छ ।
बलेनो नेपाली बजारमा पहिलेदेखि बिक्री हुँदै आएको सुजुकीको परिचित ह्याचब्याक हो । भारतमै उत्पादन हुने नयाँ मोडल नेपाल आउने सम्भावना बलियो रहे पनि यसको भेरियन्ट, मूल्य र सार्वजनिक हुने समयबारे आधिकारिक वितरकले जानकारी दिएको छैन ।
भारतीय बजारमा नयाँ बलेनोले हुन्डाई आई२०, टाटा अल्ट्रोज र टोयोटा ग्लान्जासँग प्रतिस्पर्धा गर्नेछ । एसयूभीको बढ्दो प्रभावबीच नयाँ इन्जिन, ६ एयरब्याग र लेभल–२ एडासले बलेनोलाई प्रिमियम ह्याचब्याक बजारमा थप प्रतिस्पर्धी बनाउने देखिन्छ ।