Newad1
Featured blog image

नयाँ डिजाइन, नयाँ प्रविधि, नयाँ अनुभवसहित स्कोडा कुशाक फेसलिफ्ट, ५७.९० लाखबाट

काठमाडौं । नेपाली प्रिमियम एसयूभी बजारमा लामो समयदेखि प्रतिक्षा गरिएको स्कोडा कुशाक फेसलिफ्ट अन्ततः औपचारिक रूपमा सार्वजनिक भएको छ । नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्लु एक्स्पान्ज ले आइतबार आयोजित विशेष समारोहमार्फत ‘रियल ड्राइभर्स वान्टेड’ अभियानका साथ नयाँ कुशाक बजारमा उतारेको हो । कम्पनीले यस मोडलमार्फत युरोपेली इन्जिनियरिङ, आधुनिक प्रविधि र सुरक्षित ड्राइभिङ अनुभवलाई नेपाली ग्राहकसम्म अझ प्रभावकारी रूपमा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ ।

सार्वजनिक कार्यक्रममा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गाडीको अनावरण गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले नेपाली सडकको आवश्यकता र ग्राहकको अपेक्षालाई ध्यानमा राख्दै स्कोडाले विश्वस्तरको इन्जिनियरिङलाई स्थानीय बजारसँग जोड्ने प्रयास गरेको बताए । उनका अनुसार नयाँ कुशाक केवल डिजाइन परिवर्तन भएको मोडल मात्र नभई समग्र ड्राइभिङ अनुभवलाई थप परिष्कृत बनाउने उद्देश्यका साथ ल्याइएको हो ।

नयाँ कुशाक क्लासिक प्लस, स्पोर्ट लाइन र मोन्टे कार्लो गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ । यसको सुरुवाती मूल्य ५७ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ भने शीर्ष भेरियन्टको मूल्य ९१ लाख ९० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

डिजाइनतर्फ कुशाक फेसलिफ्टले पहिलेको तुलनामा निकै परिष्कृत र आधुनिक स्वरूप पाएको छ । नयाँ फ्रन्ट ग्रिल, थप बोल्ड बम्पर, स्लिम एलईडी हेडल्याम्प, एलईडी डे–टाइम रनिङ लाइट तथा पुनः डिजाइन गरिएको बाह्य स्वरूपले गाडीलाई अझ प्रिमियम बनाएको छ । पछाडिको भागमा पहिलो पटक इलुमिनेटेड स्कोडा वर्डमार्क सहितको कनेक्टेड एलईडी टेललाइट समावेश गरिएको छ, जसले रातको समयमा गाडीलाई फरक पहिचान दिन्छ ।

पावरट्रेनतर्फ ग्राहकले १.० लिटर टिएसआई र १.५ लिटर टिएसआई पेट्रोल इन्जिनमध्ये रोज्न सक्नेछन् । यी इन्जिनसँग ८ स्पिड अटोमेटिक तथा डीएसजी ट्रान्समिसनको विकल्प उपलब्ध गराइएको छ । कम्पनीका अनुसार दुवै इन्जिनले शक्ति, इन्धन दक्षता र सहज ड्राइभिङबीच राम्रो सन्तुलन प्रदान गर्नेछन् ।

भित्री भागमा पनि स्कोडाले उल्लेखनीय सुधार गरेको छ । विशेषगरी मोन्टे कार्लो भेरियन्टमा प्यानोरामिक सनरुफ, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, ६–वे पावर्ड भेन्टिलेटेड सिट, एम्बियन्ट लाइटिङ, प्रिमियम अपहोल्स्ट्री तथा डिजिटल प्रविधिमा आधारित सुविधा समावेश गरिएको छ । यसले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म आरामदायी अनुभव दिने कम्पनीको दाबी छ ।

सुरक्षाको विषयमा पनि कुशाक आफ्नो सेग्मेन्टकै बलियो मोडलमध्ये एक मानिन्छ । यसले ग्लोबल एनक्याप क्र्यास परीक्षणमा ५–स्टार सेफ्टी रेटिङ प्राप्त गरिसकेको छ । सबै भेरियन्टमा ६ वटा एयरब्यागलाई मानक सुविधाका रूपमा राखिएको छ । साथै इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, एबीएस, ईबीडी, टायर प्रेसर मोनिटरिङ सिस्टम, मल्टिपल ड्राइभिङ असिस्ट फिचर तथा उच्च भेरियन्टमा चारै पाङ्ग्रामा डिस्क ब्रेकसहित करिब ४० वटा सक्रिय र निष्क्रिय सुरक्षा सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।

गाडीसँगै स्कोडा नेपालले बिक्रीपछिको सेवालाई थप व्यवस्थित बनाउन ‘प्रमिस अफ १२’ योजना पनि सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत देशभर रहेका १२ वटा आधिकारिक सेवा केन्द्रबाट ग्राहकले प्रत्येक १२ महिना वा १२ हजार किलोमिटरको नियमित मर्मतसम्भार १२ हजार रुपैयाँको निश्चित शुल्कमा गराउन सक्नेछन् । यसले मर्मत खर्चमा पारदर्शिता ल्याउनुका साथै दीर्घकालीन स्वामित्व लागत घटाउने कम्पनीको विश्वास छ ।

प्रिमियम एसयूभी बजारमा प्रतिस्पर्धा अझ तीव्र

पछिल्ला केही वर्षयता नेपाली बजारमा प्रिमियम मध्यम आकारका एसयूभीप्रतिको आकर्षण निरन्तर बढिरहेको छ । ग्राहकहरू अब केवल आकर्षक डिजाइनभन्दा पनि सुरक्षा, प्रविधि, आराम, बिक्रीपछिको सेवा र पुनःबिक्री मूल्यलाई प्राथमिकतामा राख्न थालेका छन् । यही बदलिँदो प्रवृत्तिलाई ध्यानमा राख्दै स्कोडाले फेसलिफ्ट संस्करणमार्फत आफ्नो प्रतिस्पर्धात्मक उपस्थितिलाई अझ मजबुत बनाउन खोजेको देखिन्छ ।

विशेषगरी पाँचतारे सुरक्षा, युरोपेली इन्जिनियरिङ, नयाँ डिजाइन र निश्चित मर्मत योजनाको संयोजनले कुशाकलाई आफ्नो वर्गमा थप बलियो विकल्पका रूपमा उभ्याउने अपेक्षा गरिएको छ । नेपाली सडकको भौगोलिक विविधता, लामो दूरीको यात्रा र दैनिक सहरी प्रयोगलाई ध्यानमा राखेर तयार पारिएको यो एसयूभीले प्रिमियम ग्राहकबीच राम्रो प्रतिक्रिया पाउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

footer