Newad1
Featured blog image

हाइलक्सको नयाँ पुस्ता आज भारतमा, मूल्य कति पर्ला ?

काठमाडौं । मजबुत बनावट, कठिन बाटोमा पनि नडराउने क्षमता र लामो समयको भरोसाका कारण छुट्टै पहिचान बनाएको हाइलक्स अब नयाँ स्वरूपमा देखिन लागेको छ । पिकअप पारखीको चासो बढिरहेका बेला यसको नयाँ पुस्ता आज भारतमा सार्वजनिक हुँदैछ ।

टोयोटाले हाइलक्सलाई केवल बाहिरी सजावटमा सीमित नराखी केबिन, प्रविधि र दैनिक चलाउँदाको सहजतामा समेत उल्लेख्य परिवर्तन गर्ने तयारी गरेको छ । विश्व बजारमा गत वर्षको अन्त्यतिर सार्वजनिक भएको नवौं पुस्ताको हाइलक्स भारतीय बजारमा आउन लागेको हो ।

नयाँ हाइलक्सको अगाडिको भागमा ठूलो ग्रिल, नयाँ एलईडी हेडल्याम्प, बलियो बम्पर र पहिलेभन्दा मस्कुलर बडी डिजाइन रहने अपेक्षा गरिएको छ । पछाडिको टेललाइट तथा बडीको समग्र बनावटमा पनि नयाँपन देखिनेछ । तर, भारी काम र अफ–रोड यात्राका लागि उपयुक्त मानिने यसको मजबुत ल्याडर–फ्रेम संरचना भने कायमै रहनेछ ।

यसपटक सबैभन्दा बढी ध्यान तानेको पक्ष केबिन हो । यसमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र टचस्क्रिन इन्फोटेनमेन्टका लागि १२.३ इन्चसम्मका दुई डिस्प्ले, नयाँ स्टेयरिङ ह्विल, वायरलेस चार्जिङ तथा कनेक्टेड कार सुविधा रहने अपेक्षा छ । सुरक्षाका लागि ३६० डिग्री क्यामेरा र उन्नत चालक सहायता प्रणाली पनि उपलब्ध हुन सक्ने बताइएको छ ।

शक्तिको स्रोतका रूपमा नयाँ हाइलक्समा २.८ लिटर टर्बो–डिजेल इन्जिनसँग ४८ भोल्ट माइल्ड–हाइब्रिड प्रणाली जोडिने अनुमान गरिएको छ । यो संयोजनले करिब २०४ पीएस शक्ति र ५०० एनएम टर्क दिने अपेक्षा छ । कम गतिमा गाडी चलाउँदा टर्कको सहयोग गर्ने र इन्धन खपत केही घटाउन मद्दत गर्ने उद्देश्यले माइल्ड–हाइब्रिड प्रणाली प्रयोग गरिएको हो ।

यसमा ६–स्पिड अटोमेटिक गियरबक्स र फोर–ह्विल ड्राइभ प्रणाली उपलब्ध रहने सम्भावना छ । उकालो, हिलो, ढुंगाम्य बाटो वा भारी सामान बोक्ने काममा हाइलक्सको स्थापित क्षमता नयाँ मोडलमा पनि कायमै रहने टोयोटाको अपेक्षा छ ।

भारतमा हाल बिक्री भइरहेको हाइलक्सको मूल्य २८.५२ लाखदेखि ३६ लाख भारतीय रुपैयाँसम्म छ । नयाँ पुस्ताको मोडलको सुरुआती मूल्य करिब ३० लाख भारतीय रुपैयाँबाट सुरु भएर ३८ लाख रुपैयाँसम्म पुग्न सक्ने अनुमान गरिएको छ । भेरियन्ट, आधिकारिक मूल्य र भारतका लागि तय गरिएका फिचर भने आजको सार्वजनिक कार्यक्रमपछि स्पष्ट हुनेछ ।

नेपाली बजारमा पिकअपको प्रयोग निजी यात्राभन्दा व्यवसाय, निर्माण, पर्यटन र दुर्गम क्षेत्रमा बढी देखिन्छ । त्यसैले भारतमा आउने नयाँ हाइलक्स नेपाल भित्रिने सम्भावना बनेमा बलियो पिकअप खोज्ने ग्राहकका लागि चासोको विषय बन्न सक्छ । विशेषगरी टोयोटाको विश्वसनीयता, अफ–रोड क्षमता र भारी काम गर्ने सामर्थ्यलाई प्राथमिकता दिने ग्राहकले यसलाई नजिकबाट हेर्नेछन् ।

footer