एकपटक चार्जमा ७२५ किमि, ४२५ किलोवाट पावरसहित आयो जिली ग्यालेक्सी TT
काठमाडौं । चीनको जिली अटोमोबाइलले नयाँ विद्युतीय स्पोर्ट्स सेडान ग्यालेक्सी TT सार्वजनिक गरेको छ । सांघाईस्थित १८६२ फेसन आर्ट सेन्टरमा पहिलोपटक प्रदर्शन गरिएको यो मोडल डिजाइनका कारण श्याओमी एसयू७ सँग मिल्दोजुल्दो देखिएको छ । कम्पनीले आगामी अगस्टदेखि यसलाई औपचारिक रूपमा बजारमा बिक्री सुरु गर्ने जनाएको छ ।
ग्यालेक्सी TT लाई युवा ग्राहकलाई लक्षित गर्दै विकास गरिएको हो । फास्टब्याक डिजाइन, कम उचाइ र एरोडाइनामिक बडीका कारण यसले प्रिमियम स्पोर्ट्स सेडानको अनुभूति दिन्छ । यसको लम्बाइ ४,९९९ मिमि, चौडाइ १,९१९ मिमि, उचाइ १,४७९ मिमि तथा ह्विलबेस २,९२० मिमि रहेको छ । कम्पनीले फ्योर्ड ब्लु, ओलिभ ग्रीन र सन्नी नुन ब्लुसहित आठ वटा बाह्य रङ विकल्प उपलब्ध गराउने जनाएको छ ।
गाडीको मुख्य आकर्षण ८०० भोल्ट हाई–भोल्टेज प्लेटफर्म हो । यसमा सीएटीएलका ५२.४, ६३.८ र ७५.२ किलोवाट–घण्टा क्षमताका ब्याट्री प्याक उपलब्ध हुनेछन् । कम्पनीका अनुसार भेरियन्टअनुसार यसले सीएलटीसी मापदण्डमा ५४० किलोमिटरदेखि अधिकतम ७२५ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्नेछ ।
पावरट्रेनमा रियर–ह्विल ड्राइभ र अल–ह्विल ड्राइभ दुवै विकल्प छन् । आधारभूत भेरियन्टको मोटरले २४५ किलोवाट शक्ति उत्पादन गर्छ भने डुअल मोटरयुक्त संस्करणले ४२५ किलोवाटसम्मको संयुक्त शक्ति दिने कम्पनीको दाबी छ ।
भित्री भागमा फ्लाइम अटो २.० अपरेटिङ सिस्टम, ठूलो सेन्ट्रल टचस्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले जस्ता आधुनिक सुविधा समावेश गरिएको छ । साथै ११० लिटरको फ्रङ्क, ४७५ लिटरको बुट स्पेस र थप अन्डर–फ्लोर स्टोरेजले दैनिक प्रयोगलाई थप सहज बनाउने कम्पनीको भनाइ छ ।
श्याओमी एसयू७ ले चीनमा पाएको सफलतापछि प्रिमियम विद्युतीय सेडान बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । जिलीले पनि सोही वर्गका ग्राहकलाई लक्षित गर्दै ग्यालेक्सी TT ल्याएको देखिन्छ ।
हाल चीनमा उच्च रेन्ज, ८०० भोल्ट चार्जिङ प्रणाली र उन्नत ड्राइभर सहायक प्रविधियुक्त गाडीको माग बढिरहेका बेला ग्यालेक्सी TT जिलीका लागि महत्त्वपूर्ण मोडल बन्न सक्ने विश्लेषण गरिएको छ । यदि प्रतिस्पर्धी मूल्यमा बजारमा उतार्न सकियो भने यसले चीनको प्रिमियम ईभी सेडान सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ ।