स्कुटर कि मोटरसाइकल ? अप्रिलियाको एसआर जीटी ४०० ले किन बढायो चर्चा
काठमाडौं । इटालियन दुईपांग्रे ब्रान्ड अप्रिलियाले स्कुटरलाई केवल सहरभित्रको छोटो दूरीको साधन मान्ने परम्परागत सोचलाई चुनौती दिँदै नयाँ एसआर जीटी ४०० सार्वजनिक गरेको छ । २०२७ मोडलका रूपमा ल्याइएको यो स्कुटरलाई कम्पनीले उत्तर अमेरिकी बजारका लागि तयार पारेको हो, जसमा मोटरसाइकलकै झल्को दिने फ्रेम, शक्तिशाली इन्जिन, लामो सस्पेन्सन ट्राभल र कच्ची बाटोमा समेत चलाउन मिल्ने टायर प्रयोग गरिएको छ ।
अप्रिलियाको नयाँ एसआर जीटी ४०० को प्रारम्भिक मूल्य ७ हजार २९९ अमेरिकी डलर तोकिएको छ । रग्ड ब्ल्याक र डस्टी ग्रे गरी दुई कलरमा उपलब्ध हुने स्कुटरको र्याली रेप्लिका भेरियन्टको मूल्य ७ हजार ४९९ डलर रहेको छ । र्याली रेप्लिका संस्करणमा विशेष ग्राफिक्स, अप्रिलिया एमआईए कनेक्टिभिटी तथा फरक सजावटी एलिमेन्ट थपिएका छन् ।
यसमा ३९९ सीसी क्षमताको लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । फोर भल्भ र एसओएचसी प्रविधियुक्त यो इन्जिनले ७ हजार ५०० आरपीएममा ३६ हर्सपावर तथा ५ हजार ७०० आरपीएममा २७.८ एलबी–फिट टर्क उत्पादन गर्छ । अटोमेटिक सीभीटी ट्रान्समिसन रहेको यस स्कुटरलाई कम्पनीले सहरका लागि सहज र खुला सडकका लागि सक्षम दुवै किसिमले विकास गरेको जनाएको छ ।
कम्पनीका अनुसार एसआर जीटी ४०० ले स्थिर अवस्थाबाट १९७ फिट दूरी करिब पाँच सेकेन्डमा पूरा गर्न सक्छ । ३.२ ग्यालन क्षमताको फ्युल ट्यांक र प्रतिग्यालन करिब ६१ माइल माइलेज दाबी गरिएको स्कुटरले एकपटक ट्यांक भरिँदा १८५ माइलभन्दा बढी यात्रा गर्न सक्ने बताइएको छ ।
यसको सबैभन्दा ठूलो विशेषता भनेको स्कुटरमा प्रयोग गरिएको मोटरसाइकल शैलीको डबल–क्रेडल स्टिल फ्रेम हो । उच्च मजबुत स्टिल ट्युबबाट बनेको यो फ्रेमले हाइवे गतिमा स्थिरता र ट्राफिकमा चपल ह्यान्डलिङ दिने अप्रिलियाको दाबी छ । ४१० पाउन्ड कर्ब वेट भएको एसआर जीटी ४०० लाई आफ्नो वर्गमा राम्रो पावर–टु–वेट रेसियो भएको स्कुटरका रूपमा प्रस्तुत गरिएको छ ।
फ्रन्टमा ४१ एमएमको अपसाइड–डाउन फोर्क र रियरमा पिगीब्याक रिजर्भोयरसहितका डुअल सक प्रयोग गरिएको छ । दुवै सस्पेन्सनले ४.७ इन्च ट्राभल दिन्छन् । ब्रेकिङका लागि अगाडि ३०० एमएम फ्लोटिङ डिस्क र रेडियल माउन्ट फोर–पिस्टन क्यालिपर तथा पछाडि २४० एमएम डिस्क र टु–पिस्टन क्यालिपर दिइएको छ । बोस डुअल च्यानल एबीएस स्ट्यान्डर्ड छ भने अफरोड यात्राका लागि रियर ह्विल एबीएस बन्द गर्न सकिने व्यवस्था पनि छ ।
स्कुटरमा अगाडि १६ इन्च र पछाडि १४ इन्चका ह्विलमा मिटास इन्डुरो ट्रेल–एडीभी टु टायर लगाइएको छ । ७.५ इन्च ग्राउन्ड क्लियरेन्स, ३२.३ इन्च सिट हाइट, वाइड ह्यान्डलबार र ह्यान्डगार्डले यसलाई सामान्य म्याक्सी स्कुटरभन्दा निकै फरक बनाएको छ ।
राइडरका लागि ५ इन्च कलर टीएफटी डिस्प्ले, दुई स्तरको ट्र्याक्सन कन्ट्रोल, किलेस स्टार्ट र भीडभाडमा स्कुटर खोज्न सहयोग गर्ने बाइक फाइन्डर फिचर उपलब्ध छन् । अप्रिलिया एमआईए प्रणालीमार्फत फोन कनेक्टिभिटी, कल, म्युजिक र टर्न–बाइ–टर्न नेभिगेसन पनि प्रयोग गर्न सकिन्छ ।
नेपालजस्तो सहरसँगै उकालो, घुम्ती र कतिपय ठाउँमा कमजोर सडक संरचना भएको बजारमा यस्ता एड्भेन्चर स्कुटरप्रति रुचि बढ्दो छ । यद्यपि एसआर जीटी ४०० नेपाल आउनेबारे अप्रिलिया वा यहाँको आधिकारिक वितरकबाट कुनै जानकारी आएको छैन । यदि नेपाली बजारमा प्रवेश पायो भने, यो प्रिमियम स्कुटर र मध्यम क्षमताका एड्भेन्चर मोटरसाइकलबीचको नयाँ विकल्प बन्न सक्ने देखिन्छ ।