Newad1
Featured blog image

सात सिट र लामो रेन्जसहित नेपाल आयो वुलिङ एक्सियन ईभी

काठमाडौँ । नेपाली विद्युतीय सवारी बजारमा पाँच सिटभन्दा ठूलो, तर मूल्यका हिसाबले पहुँचभित्रको पारिवारिक गाडी खोज्ने ग्राहकका लागि नयाँ विकल्प थपिएको छ । फराकिलो क्याबिन, तीन पङ्क्तिको सिट र लामो यात्रालाई ध्यानमा राखिएको यो गाडीले सात सिटे विद्युतीय एसयूभीबीच प्रतिस्पर्धा बढाउने देखिन्छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा वुलिङ एक्सियन ईभी सार्वजनिक गरिएको हो । यसको नियमित मूल्य ५७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने एक्स्पो अवधिका लागि ५५ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइने भएको छ ।

पाँच ढोका भएको एक्सियनमा ५ जोड २ सिट संरचना दिइएको छ । गाडी ४ हजार ७४५ मिलिमिटर लामो, १ हजार ८५० मिलिमिटर चौडा र १ हजार ७५५ मिलिमिटर अग्लो छ । यसको ह्विलबेस २ हजार ८१० मिलिमिटर भएकाले तीनवटै पङ्क्तिमा व्यावहारिक क्याबिन उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ ।

यसमा ६९.२ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ । अगाडिका पाङ्ग्रा चलाउने १५० किलोवाटको विद्युतीय मोटरले ३१० न्युटन मिटर टर्क उत्पादन गर्छ । उक्त मोटरको शक्ति करिब २०१ हर्सपावर बराबर हुन्छ ।

कम्पनीका अनुसार एक्सियनले सिएलटिसी मापदण्डमा एकपटकको पूर्ण चार्जमा ५३० किलोमिटरसम्म यात्रा गर्न सक्छ । डब्लुएलटिपी मापदण्डअनुसार यसको रेन्ज ४४० किलोमिटरसम्म छ । वास्तविक रेन्ज भने सडक, मौसम, यात्रुको भार र गाडी चलाउने शैलीअनुसार फरक पर्न सक्छ ।

आरामदायी यात्राका लागि अगाडिका दुवै सिट विद्युतीय रूपमा मिलाउन सकिन्छ भने पहिलो पङ्क्तिमा सिट भेन्टिलेसनसमेत दिइएको छ । तीनवटै पङ्क्तिमा वातानुकूलन प्रणालीका हावा निकास राखिएका छन् । विद्युतीय प्यानोरामिक सनरुफ, पावर टेलगेट र ध्वनि नियन्त्रण गर्ने दोहोरो तहको सिसाले क्याबिनलाई थप सुविधाजनक बनाएको छ ।

चालकका लागि ८.८ इन्चको टिएफटी उपकरण पर्दा उपलब्ध छ । ताररहित एन्ड्रोइड अटो र एप्पल कारप्ले, ५० वाटको ताररहित मोबाइल चार्जर, छवटा स्पिकर र आवाजबाट चलाउन सकिने सुविधा पनि यसमा समेटिएका छन् ।

सुरक्षातर्फ छवटा एयरब्याग, एन्टिलक ब्रेकिङ प्रणाली, इलेक्ट्रोनिक स्थिरता नियन्त्रण, हिल होल्ड, टायर प्रेसर निगरानी र आइसोफिक्स सिट जडान सुविधा दिइएको छ । एडाप्टिभ क्रुज कन्ट्रोलसहितको एडास प्रणाली, ३६० डिग्री क्यामेरा र गाडीमुनिको भागसमेत पर्दामा देखाउने पारदर्शी च्यासिस दृश्य यसको अर्को आकर्षण हो ।

अगाडि म्याकफर्सन र पछाडि मल्टिलिङ्क स्वतन्त्र सस्पेन्सन प्रयोग गरिएको एक्सियनमा १८ इन्चका अलोय ह्विल छन् । अगाडि र पछाडि दुवैतर्फ डिस्क ब्रेक दिइएको छ ।

कम्पनीले विद्युतीय मोटरमा ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर तथा उच्च भोल्टेज ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउने जनाएको छ ।

नेपालमा विद्युतीय एसयूभीको विकल्प बढे पनि तीन पङ्क्तिको सिटसहित आउने मोडल अझै सीमित छन् । यस्तो अवस्थामा एक्सियनको सात सिट क्षमता, ठूलो ब्याट्री र सुरक्षा प्रविधिले परिवार लक्षित विद्युतीय गाडी खोजिरहेका ग्राहकको ध्यान तान्न सक्छ ।

footer