Newad1
Featured blog image

नयाँ इन्धन प्रविधिमा यामाहाको फड्को, एफजेड ब्लु फ्लेक्स भारतमा लन्च

काठमाडौँ । जापानी दुईपाङ्ग्रे निर्माता यामाहाले वैकल्पिक इन्धन प्रविधितर्फ अर्को महत्वपूर्ण कदम चाल्दै इथानोल मिश्रित इन्धनमा चल्ने नयाँ एफजेड ब्लु फ्लेक्स मोटरसाइकल भारतमा सार्वजनिक गरेको छ । कम्पनीले यो मोडललाई विशेष रूपमा इ२० देखि इ८५ सम्मको इथानोल मिश्रित इन्धन प्रयोग गर्न मिल्ने गरी विकास गरेको हो ।

भारतीय बजारमा यसको एक्स–शोरुम मूल्य १ लाख २४ हजार २४० भारतीय रुपैयाँ निर्धारण गरिएको छ । नयाँ ब्लु फ्लेक्स प्रविधिले भविष्यमा जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने तथा स्वच्छ इन्धनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको कम्पनीको विश्वास छ ।

नयाँ एफजेड ब्लु फ्लेक्समा १४९ सीसी सिंगल–सिलिन्डर, एयर–कुल्ड इन्जिन प्रयोग गरिएको छ । यसले ११.५३ बीएचपी शक्ति र १२.८ एनएम टर्क उत्पादन गर्छ । इन्जिनसँग ५–स्पिड गियरबक्स जोडिएको छ, जसले दैनिक प्रयोगका साथै लामो दूरीको यात्रामा पनि सहज ड्राइभिङ अनुभव दिने अपेक्षा गरिएको छ ।

डिजाइनतर्फ हेर्दा यो मोटरसाइकलमा फुल एलईडी प्रोजेक्टर हेडल्याम्प, इन्टिग्रेटेड पोजिसन ल्याम्प, मस्कुलर फ्युल ट्याङ्क एक्सटेन्सन, एयर भेन्ट शैलीका डिजाइन एलिमेन्ट, एकै टुक्राको सिट तथा कम्प्याक्ट एक्जस्ट जस्ता विशेषता समावेश छन् । समग्र डिजाइनले एफजेड सिरिजको स्पोर्टी पहिचानलाई कायम राखेको छ ।

सस्पेन्सनका लागि अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक प्रयोग गरिएको छ । ब्रेकिङका लागि अगाडि र पछाडि दुवै चक्कामा डिस्क ब्रेक उपलब्ध गराइएको छ भने सुरक्षाका लागि एबीएस प्रणाली पनि समावेश गरिएको छ ।

हाल यो मोटरसाइकल मेटालिक ब्ल्याक रंगमा मात्र उपलब्ध छ । कम्पनीले प्रारम्भिक चरणमा दिल्ली, उत्तर प्रदेश, महाराष्ट्र, कर्नाटक, तेलंगाना र तमिलनाडु लगायतका भारतीय बजारमा यसको बिक्री सुरु गरेको जनाएको छ ।

नेपालको सन्दर्भमा हेर्दा यामाहाको यो नयाँ प्रविधिले तत्काल प्रभाव नपार्न सक्छ, किनकि नेपालमा अझै इ२० वा इ८५ इथानोल मिश्रित इन्धन को व्यावसायिक आपूर्ति सुरु भएको छैन । नेपाल आयल निगमले हाल पेट्रोल र डिजेलको नियमित वितरण गरिरहेको भए पनि उच्च प्रतिशत इथानोल मिश्रित इन्धनको पूर्वाधार विकास हुन बाँकी छ ।

यद्यपि विश्वभर कार्बन उत्सर्जन घटाउने अभियान तीव्र बन्दै गइरहेका बेला पेट्रोल, विद्युत र इथानोलजस्ता वैकल्पिक इन्धनलाई समानान्तर रूपमा अघि बढाउने रणनीति बलियो बन्दै गएको छ । भारतले इथानोल मिश्रित इन्धनलाई आक्रामक रूपमा विस्तार गरिरहेको अवस्थामा भविष्यमा नेपालले पनि यस्ता प्रविधिलाई अपनाउने सम्भावना नकार्न सकिँदैन ।

यदि नेपालमा इथानोल मिश्रित इन्धनको वितरण प्रणाली विकास भयो भने यामाहाको ब्लु फ्लेक्स प्रविधियुक्त यस्ता मोटरसाइकल नेपाली बजारका लागि पनि आकर्षक विकल्प बन्न सक्ने देखिन्छ । त्यसैले यो मोडललाई केवल नयाँ मोटरसाइकलका रूपमा मात्र नभई भविष्यको वैकल्पिक इन्धन प्रविधिको संकेतका रूपमा समेत हेरिएको छ ।

footer