१९ वर्षदेखि एउटै साथ, गोल्छा ग्रुप फेरि एनएसजेएफ स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक
काठमाडौं । नेपाली खेलकुद क्षेत्रका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा खेलकुदमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने प्रतिष्ठित २३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८३ आगामी भदौ १८ गते आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यस वर्षको अवार्ड नेपाल पुलिस क्लबस्थित द ब्लु पवेलियन मा आयोजना गरिने जानकारी दिएको हो ।
यससँगै मञ्चले अवार्डको मुख्य प्रायोजकका रूपमा गोल्छा ग्रुप सँगको सहकार्यलाई निरन्तरता दिएको छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । दुई संस्थाबीच गत वर्ष पाँच वर्षका लागि सहकार्यको सम्झौता भएको थियो र अहिले त्यसको दोस्रो वर्ष चलिरहेको छ । गोल्छा ग्रुप लगातार १९ औँ पटक यस प्रतिष्ठित खेलकुद अवार्डसँग आबद्ध भएको हो ।
सम्झौतापछि बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपाली खेलकुदको विकासमा योगदान पुर्याउने उद्देश्यले संस्थाले लामो समयदेखि अवार्डलाई साथ दिँदै आएको बताए । उनले उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा खेलकुदमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्नु खेलकुदको समग्र स्तर उकास्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई अझ सशक्त बनाइने विश्वास व्यक्त गरे ।
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको गोल्छा ग्रुपको निरन्तर साथले अवार्डलाई थप व्यवस्थित, प्रभावकारी र दीगो बनाउन ठूलो सहयोग पुगेको बताए । उनले खेलकुद पत्रकारिता र नेपाली खेलकुदको विकासमा गोल्छा ग्रुपको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै आभार व्यक्त गरे ।
मञ्चका महासचिव अञ्जन खड्का का अनुसार यस वर्ष ९ वटा विधा मा अवार्ड प्रदान गरिनेछ । यसमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड तथा एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड समावेश छन् ।
पुरुष, महिला, युवा, प्रशिक्षक तथा पिपल्स च्वाइस विधाका लागि मनोनयन सूची केही दिनभित्र सार्वजनिक गरिने जनाइएको छ । मञ्चको खेलाडी छनोट समितिले मनोनयन प्रक्रिया सुरु गरिसकेको छ र प्रत्येक विधामा ५–५ जना मनोनयनमा रहने व्यवस्था गरिएको छ । पिपल्स च्वाइस अवार्डमा भने जनमतका आधारमा विजेता चयन हुने भएकाले त्यसको मतदान प्रक्रिया पनि मनोनयन सार्वजनिकसँगै सुरु हुनेछ ।
यता लाइफटाइम एचिभमेन्ट, स्पेसल अवार्ड, पारा एथलिट सम्मान तथा एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड का विजेताको घोषणा भने अवार्ड समारोहकै दिन गरिने मञ्चले जनाएको छ ।
पुरुष, महिला, प्रशिक्षक, युवा तथा पिपल्स च्वाइस विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य सम्मानित तथा विजेतालाई भने जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ ।
अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । साथै कार्यक्रम व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको मञ्चले जनाएको छ ।
गत वर्षको अवार्डमा पुरुषतर्फ क्रिकेटका दीपेन्द्र सिंह ऐरी, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटकी पूजा महतो, प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामा तथा पिपल्स च्वाइस अवार्ड भलिबलका हिमाल सुनारी ले जितेका थिए । त्यसैगरी स्पेसल अवार्डबाट तेक्वान्दोका तुलसी कुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आबदेम्बे, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट बंगलादेशका पत्रकार राना हसन तथा लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाट सम्मानित भएका थिए ।