Newad1
Featured blog image

२.० लिटर टर्बो हाइब्रिड प्रणालीसहित आउँदै ९००एल

काठमाडौँ । चिनियाँ अटोमोबाइल समूह जिलीअन्तर्गतको लिङ्क एन्ड कोले सातसिटे प्लगइन हाइब्रिड एसयूभी ९००एल नोभेम्बर १० मा पहिलोपटक सार्वजनिक गर्ने भएको छ । हाल पाँच र छ सिटमा उपलब्ध ९०० सिरिजमा कम्पनीले सातसिटे संस्करण थप्न लागेको हो ।


कम्पनीले नोभेम्बर ६ मा चिनियाँ सामाजिक सञ्जाल वेइबोमार्फत नयाँ मोडलको प्रदर्शन मिति घोषणा गरेको हो । यसको मूल्य र बिक्री सुरु हुने मिति भने खुलाइएको छैन ।

९००एलको लम्बाइ ५ हजार २८० एमएम, चौडाइ १ हजार ९९९ एमएम र उचाइ १ हजार ८१० एमएम छ । यसको ह्विलबेस ३ हजार १७० एमएम छ । हाल बिक्री भइरहेको ९०० को तुलनामा नयाँ मोडल ४० एमएम लामो र १० एमएम अग्लो छ भने ह्विलबेस पनि १० एमएम बढाइएको छ । चौडाइ भने समान छ ।

यसमा २.० लिटर टर्बो इन्जिनसहितको प्लगइन हाइब्रिड प्रणाली रहनेछ । इन्जिनको अधिकतम पावर १६० किलोवाट अर्थात् करिब २१५ हर्सपावर छ । उपलब्ध प्राविधिक विवरणमा अधिकतम गति प्रतिघण्टा २२५ किलोमिटर उल्लेख छ । यसमा प्रयोग हुने टर्नरी लिथियम ब्याट्रीका सेल सीएटीएल र जिलीको संयुक्त उद्यमले आपूर्ति गर्नेछ ।

बाहिरी डिजाइनमा ९०० कै परिचित गेट आकारका डे–टाइम रनिङ लाइट कायम राखिएको छ । नयाँ मोडलमा २१ इन्चका मल्टिस्पोक ह्विल, कालो ह्विल आर्च र फ्लोटिङ रुफ डिजाइन छन् । यसका लागि छुट्टै बरगन्डी रङ पनि उपलब्ध हुनेछ । पछाडिको एक छेउदेखि अर्को छेउसम्म फैलिएको टेललाइटको बीचमा उज्यालो बल्ने लिङ्क एन्ड को लोगो राखिएको छ । छतको अगाडिपट्टि चालक सहायता प्रणालीका लागि लाइडार जडान गरिएको छ ।


एसपीए इभो हाइब्रिड आर्किटेक्चरमा आधारित ९०० सिरिजको छसिटे संस्करण सन् २०२५ अप्रिलमा चीनमा सार्वजनिक भएको थियो । त्यसको सुरुवाती मूल्य ३ लाख ९ हजार ९०० युआन थियो । कम्पनीले सन् २०२६ अप्रिल २७ मा पाँचसिटे संस्करण पनि ल्याएको थियो, जसको सुरुवाती मूल्य २ लाख ९९ हजार ८०० युआन तोकिएको थियो । चिनियाँ ठूला एसयूभी बजारमा यस सिरिजका प्रतिस्पर्धीमा ली एल९, डेन्जा एन९ र आइटो एम९ पर्छन् ।

यसैबीच, लिङ्क एन्ड कोले अक्टोबरमा २१ हजार ९५८ गाडी बिक्री गरेको छ । यो अघिल्लो वर्षको सोही महिनाभन्दा ४५.४० प्रतिशत कम र सेप्टेम्बरभन्दा १८.७४ प्रतिशत बढी हो । सन् २०२६ को पहिलो दस महिनामा कम्पनीको कुल बिक्री २ लाख १८ हजार ७५ गाडी पुगेको छ, जुन अघिल्लो वर्षको समान अवधिभन्दा २२.५८ प्रतिशत कम हो ।


footer