अब झन् सस्तोमा सुजुकी ई–भिटारा, नयाँ मूल्य सार्वजनिक

काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्न चाहने ग्राहकका लागि सुजुकीले आकर्षक घोषणा गरेको छ । नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले आफ्नो पहिलो ब्याट्री इलेक्ट्रिक एसयूभी सुजुकी ई–भिटाराको मूल्यमा १ लाख रुपैयाँसम्म कटौती गरेको छ ।
कम्पनीका अनुसार हालै सार्वजनिक भएको नयाँ बजेटमार्फत सरकारले विद्युतीय सवारीसाधनमा लागू गरेको भन्सार महसुल तथा कर संरचनामा भएको परिवर्तनको प्रत्यक्ष लाभ ग्राहकसम्म पुर्याउने उद्देश्यले मूल्य घटाइएको हो ।
यसअघि पोखरामा आयोजित वाडा अटो शोमार्फत सार्वजनिक गरिएको ई–भिटाराको आधारभूत डेल्टा भेरिएन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेकोमा अब ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। त्यस्तै, जेटाको मूल्य ५२ लाख ९९ हजार, अल्फाको ५८ लाख ९९ हजार र अल्फा डीटीको ५९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
सुजुकीले ई–भिटारालाई ४९ किलोवाट आवर र ६१ किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध गराएको छ। यी ब्याट्रीले क्रमशः १०६ किलोवाट र १२८ किलोवाट पावर उत्पादन गर्ने क्षमता राख्छन्, जसले यसलाई आफ्नो मूल्य वर्गकै शक्तिशाली विद्युतीय एसयूभीमध्ये एक बनाएको कम्पनीको दाबी छ ।
कम्पनीले पहिलो १०० ग्राहकलाई यही परिचयात्मक मूल्यमा गाडी उपलब्ध गराउने विशेष योजना पनि ल्याएको छ । सीजी मोटोकर्पका प्रबन्ध निर्देशक करण चौधरीले सरकारले सवारीसाधनलाई थप सुलभ बनाउने उद्देश्यअनुसार उपलब्ध गराएको कर सुविधाको पूर्ण लाभ ग्राहकसम्म पुर्याउन कम्पनी प्रतिबद्ध रहेको बताए ।
हाल सीजी मोटोकर्पसँग देशभर २५ वटा आधिकारिक बिक्री केन्द्र, ४० वटा बिक्रीपछिका सेवा केन्द्र तथा दक्ष ईभी प्राविधिकहरूको सञ्जाल रहेको कम्पनीले जनाएको छ ।