मूल्य घट्यो, आकर्षण बढ्यो ! लिपमोटर B10 टप भेरियन्ट अब नयाँ मूल्यमा

काठमाडौं, जेठ २४ – नेपाली इलेक्ट्रिक सवारी बजारमा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर B10 टप भेरियन्टको मूल्यमा एकैपटक रु. ५ लाख कटौती गर्दै नयाँ मूल्य रु. ५४ लाख ९९ हजार कायम गरेको घोषणा गरेको छ ।

नयाँ कर संरचना लागू भएसँगै गरिएको यो मूल्य समायोजनपछि यसअघि रु. ६० लाख रहेको २०२६ मोडलको B10 टप भेरियन्ट अब थप प्रतिस्पर्धी मूल्यमा नेपाली बजारमा उपलब्ध हुनेछ । कम्पनीले उत्तरढोकास्थित आफ्नो शोरुममा आयोजित विशेष कार्यक्रममा नयाँ मूल्य सार्वजनिक गरेको हो । कार्यक्रममा मिडिया प्रतिनिधि, अटो इन्फ्लुएन्सर तथा ईभीप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै सांग्रिला मोटर्सका निर्देशक जय गोल्छाले नेपाली ग्राहकलाई अत्याधुनिक इलेक्ट्रिक प्रविधि अझ सहज मूल्यमा उपलब्ध गराउने उद्देश्यअनुसार मूल्य घटाइएको बताउनुभयो । उहाँले भन्नुभयो, "रु. ५ लाखको मूल्य कटौतीसँगै लिपमोटर B10 अब अझ धेरै नेपाली ग्राहकको रोजाइ बन्ने विश्वास लिएका छौं ।"

लिपमोटर B10 ले आधुनिक डिजाइन, स्मार्ट प्रविधि र उत्कृष्ट कार्यसम्पादनलाई एउटै प्याकेजमा समेटेको छ । टप भेरियन्टमा ६७.१ किलोवाट आवर क्षमताको LFP ब्याट्री र १६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ ।

यसमा अत्याधुनिक ADAS सुरक्षा प्रणाली, युरो NCAP ५-स्टार सेफ्टी रेटिङ, स्न्यापड्रागन प्रोसेसरद्वारा सञ्चालित स्मार्ट ककपिट, फराकिलो र प्रिमियम इन्टेरियर, फास्ट चार्जिङ सुविधा तथा WLTP मापदण्डअनुसार ६०० किलोमिटर ड्राइभिङ रेन्ज उपलब्ध रहेको कम्पनीले जनाएको छ । यी विशेषताले B10 लाई दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्मका लागि उपयुक्त प्रिमियम इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित गरेको छ ।

विश्वप्रसिद्ध अटोमोबाइल समूह स्टेलान्टिसको रणनीतिक साझेदारीमा रहेको लिपमोटर हाल विश्वकै तीव्र गतिमा विस्तार भइरहेको ईभी ब्रान्डमध्ये एक मानिन्छ। स्टेलान्टिसको छातामुनि मसेराटी, जिप, प्युजो लगायत १४ प्रतिष्ठित अटोमोबाइल ब्रान्ड रहेका छन् ।

लिपमोटरले हालसम्म विश्वभर १० लाखभन्दा बढी गाडी बिक्री गरिसकेको छ भने गत मे महिनामा मात्रै ८१ हजार ५६९ युनिट सवारीसाधन ग्राहकलाई हस्तान्तरण गरेको कम्पनीको तथ्यांकले देखाउँछ । विश्वका ४० भन्दा बढी देशमा फैलिएको १,७०० भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरूको सञ्जालले ग्राहकलाई विश्वसनीय बिक्रीपछिको सेवा उपलब्ध गराइरहेको छ ।

मूल्यमा गरिएको यो उल्लेखनीय कटौतीसँगै लिपमोटर B10 नेपाली बजारमा प्रिमियम फिचर, उच्च सुरक्षा, लामो रेन्ज र अत्याधुनिक प्रविधि खोज्ने ग्राहकका लागि अझ आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ ।