टीभीएस अपाचेको कीर्तिमानी बिक्री, पहिलो पटक ५ लाख युनिट नाघ्यो

भारतीय दुईपांग्रे निर्माता टीभीएस मोटर कम्पनी को लोकप्रिय मोटरसाइकल श्रृंखला टीभीएस अपाचे ले आर्थिक वर्ष २०२५/२६ मा अहिलेसम्मकै उच्च बिक्री रेकर्ड कायम गरेको छ । कम्पनीले उक्त अवधिमा अपाचे श्रृंखलाका ५ लाख ७१ हजार ३७६ युनिट मोटरसाइकल बिक्री गर्दै वार्षिक आधारमा २८ प्रतिशत वृद्धि हासिल गरेको हो ।

योसँगै २१ वर्षअघि बजारमा आएको अपाचे श्रृंखलाले पहिलो पटक वार्षिक ५ लाख युनिट बिक्रीको महत्वपूर्ण उपलब्धि पार गरेको छ । कम्पनीका अनुसार हालसम्म विश्वभर करिब ७० लाख अपाचे मोटरसाइकल बिक्री भइसकेका छन् ।
अपाचेको उत्कृष्ट प्रदर्शनले १५०–२०० सीसी मोटरसाइकल खण्डमा टीभीएसलाई ३८ प्रतिशत बजार हिस्सा दिलाएको छ । यसै अवधिमा टीभीएसको कुल मोटरसाइकल बिक्री १४ लाख १० हजार युनिट पुगेको छ, जुन कम्पनीको इतिहासमै सबैभन्दा उच्च वार्षिक बिक्री हो । आर्थिक वर्ष २०२५/२६ मा कम्पनीको कुल मोटरसाइकल बिक्रीमध्ये अपाचे श्रृंखलाको योगदान ४० प्रतिशत रहेको छ ।
भारतमा ३५० सीसीभन्दा कम क्षमताका मोटरसाइकलको मूल्य घटाउने जीएसटी २.० नीतिले अपाचेको बिक्री बढाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । आर्थिक वर्षको पहिलो छ महिनामा २२ प्रतिशत वृद्धि भएको अपाचे बिक्री दोस्रो छ महिनामा झन् तीव्र हुँदै ३४ प्रतिशतले बढेको थियो ।
अपाचेको मजबुत प्रदर्शनले १५०–२०० सीसी मोटरसाइकल बजारलाई पनि उकासेको छ । यो खण्ड आर्थिक वर्ष २०२४/२५ मा आएको गिरावटपछि पुनः वृद्धि मार्गमा फर्किएको छ भने पहिलो पटक वार्षिक १५ लाख युनिट बिक्रीको आँकडा पार गरेको छ ।

यस खण्डमा बजाज अटो दोस्रो स्थानमा रहँदै ३ लाख ६८ हजार ८१४ युनिट बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६१ प्रतिशत बढी हो । बजाजका पल्सर, एभेन्जर, डोमिनार, हस्कभार्ना र केटीएम मोडलहरूले संयुक्त रूपमा २४ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।

त्यसैगरी होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया ले बिक्री झण्डै दोब्बर बनाउँदै २ लाख ७७ हजार ६५७ युनिट बिक्री गरेको छ । मुख्यत सीबी युनिकर्न १६० को मागका कारण कम्पनीको बजार हिस्सा १३ प्रतिशतबाट बढेर १८ प्रतिशत पुगेको छ ।

यता यामाहा मोटर चौथो स्थानमा झरेको छ । एमटी–१५, आर–१५ र एक्सएसआर श्रृंखलासहित कम्पनीले २ लाख २८ हजार ८२२ युनिट बिक्री गरेको भए पनि यो अघिल्लो वर्षको तुलनामा २ प्रतिशत कम हो । कम्पनीको बजार हिस्सा २१ प्रतिशतबाट घटेर १५ प्रतिशतमा सीमित भएको छ ।

हिरो मोटोकर्प पाँचौं स्थानमा रहँदै ५५ हजार २३ युनिट बिक्री गर्न सफल भएको छ । एक्सट्रिम १६०आर र एक्सपल्स २०० मोडलको मागका कारण कम्पनीले ४७ प्रतिशत बिक्री वृद्धि हासिल गरेको छ ।