एम्पियर नेक्सस ईएक्स प्लस लन्च, पावरदेखि सुविधासम्म नयाँ अपडेट
काठमाडौं । एम्पियरले नेक्सस इलेक्ट्रिक स्कुटरको नयाँ भेरियन्ट ‘ईएक्स प्लस’ भारतीय बजारमा लन्च गरेको छ । यसको सुरुवाती एक्स–शोरुम मूल्य करिब १ लाख ३० हजार भारु तोकिएको छ । नयाँ भेरियन्टमा ५ किलोवाट पिक पावरको मोटर, आईपी६५ रेटिङको चार्जर र वैकल्पिक कनेक्टेड सुविधा दिइएको छ ।
नेक्सस ईएक्स प्लसमा मिड–माउन्ट मोटर
प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसको अधिकतम गति प्रतिघण्टा ९३ किलोमिटर छ ।
शून्यदेखि प्रतिघण्टा ४० किलोमिटरको गति लिन ४.५ सेकेन्ड लाग्ने दाबी गरिएको छ ।
मोटरमा गरिएको सुधारले उकालो तथा थप यात्रु बोकेर चलाउँदा प्रदर्शन सुधार्ने
कम्पनीको भनाइ छ ।
स्कुटरमा ३ किलोवाट आवर क्षमताको
एलएफपी ब्याट्री छ । कम्पनीले एकपटकको चार्जमा आईडीसी परीक्षणअनुसार १३६ किलोमिटर
रेन्ज दाबी गरेको छ । यसमा ६.२ इन्चको डिजिटल डिस्प्ले र १७० एमएम ग्राउन्ड
क्लियरेन्स पनि दिइएको छ । भारतीय बजारका लागि ब्याट्री वारेन्टी ५ वर्ष वा ७५
हजार किलोमिटर उल्लेख गरिएको छ ।
चार्जरमा दिइएको आईपी६५ रेटिङ धुलो र
पानीको फोहराविरुद्ध प्रतिरोधसँग सम्बन्धित हो । कनेक्टेड सुविधा चाहने ग्राहकले
‘इन्टेलिप्याक’ सहितको भेरियन्ट रोज्न सक्छन् । यसमा एम्पियर कनेक्ट एपमार्फत
चार्जिङको अवस्था हेर्ने, स्कुटरको स्थान पत्ता लगाउने, जियो–फेन्सिङ, नेभिगेसन,
ट्रिप रिपोर्ट र ब्याट्री हेल्थसम्बन्धी जानकारी प्राप्त गर्ने सुविधा छन् ।
स्ट्यान्डर्ड भेरियन्टको मूल्य करिब १
लाख ३० हजार भारु र इन्टेलिप्याकसहितको भेरियन्टको मूल्य करिब १ लाख ३६ हजार भारु
छ । दुवै मूल्य भारतीय एक्स–शोरुम मूल्य हुन् । स्कुटर कार्बन नाइट र स्टिल ग्रे
गरी दुई रङमा उपलब्ध छ ।
नेपालमा एम्पियरका स्कुटर एसटीसी अटो सोलुसनमार्फत बिक्री भइरहेका छन् र कम्पनीको नेपालसम्बन्धी आधिकारिक वेबसाइटमा नेक्सस ईएक्स समावेश छ । त्यसैले नयाँ ईएक्स प्लस नेपाली ग्राहकका लागि पनि चासोको मोडल हो । तर यसको नेपाल आगमन, स्थानीय मूल्य तथा यहाँ लागू हुने स्पेसिफिकेसन र वारेन्टीबारे पुष्टि भएको जानकारी उपलब्ध छैन ।