आगलागीको जोखिमले अडीका ९ हजारभन्दा बढी ईभी फिर्ता बोलाइए
काठमाडौँ । उच्च भोल्टेज ब्याट्रीमा सम्भावित खराबीका कारण आगलागी हुन सक्ने जोखिम देखिएपछि अडीका ९ हजार ४८ इलेक्ट्रिक एसयूभी अमेरिकी बजारमा रिकल गरिएका छन् । सन् २०२४ र २०२५ मोडल वर्षका क्यू४ ई–ट्रोन तथा क्यू४ स्पोर्टब्याक ई–ट्रोन यसमा समेटिएका हुन् । प्रभावित समूहका निश्चित ब्याट्रीमा ८० प्रतिशतभन्दा बढी चार्ज हुँदा जोखिम बढ्न सक्ने देखिएपछि कम्पनीले सावधानीका रूपमा रिकल गर्ने निर्णय गरेको हो ।
फक्सवागन ग्रुप अफ अमेरिकाले अक्टोबर
२१ मा अमेरिकी सडक सुरक्षा नियामक एनएचटीएसएमा दर्ता गरेको विवरणअनुसार रिकलमा ७ हजार
४० क्यू४ ई–ट्रोन र २ हजार ८ क्यू४ स्पोर्टब्याक ई–ट्रोन छन् । गाडीको उत्पादन
अभिलेख, ब्याट्री तथा आपूर्तिकर्ताको विवरण र उपलब्ध चार्जिङ डेटा जाँचेर प्रभावित
समूह पहिचान गरिएको छ । त्यसैले यी मोडलका सबै गाडी रिकलमा परेका होइनन् ।
समस्याको मूल कारण अझै अनुसन्धानमै छ
। प्रारम्भिक अध्ययनले निश्चित ब्याट्रीमा उत्पादनसम्बन्धी विचलन हुन सक्ने
देखाएको छ । त्यस्ता ब्याट्रीमा चार्जको स्तर ८० प्रतिशतभन्दा माथि पुग्दा निश्चित
चार्जिङ अवस्थासँग मिलेर ‘थर्मल प्रोपागेसन’ हुन सक्छ । यसको अर्थ ब्याट्रीभित्र
सुरु भएको अत्यधिक तापको प्रतिक्रिया अन्य भागमा फैलिनु हो, जसले गाडीमा आगलागी
निम्त्याउन सक्छ । तर यस खराबीसँग सम्बन्धित अडीका गाडीमा आगलागी, दुर्घटना,
चोटपटक वा मृत्यु भएको जानकारी कम्पनीलाई छैन ।
अहिले सबै ९ हजार ४८ गाडीलाई एउटै
रूपमा ८० प्रतिशत चार्ज सीमा लगाइएको भने होइन । उपलब्ध ब्याट्री डेटाले थप
परीक्षण आवश्यक नदेखाएका गाडीमा तत्काल अन्तरिम उपाय आवश्यक नरहेको उल्लेख छ ।
ब्याट्री डेटा उपलब्ध नभएका वा थप जाँच आवश्यक देखिएका गाडीका धनीलाई भने चार्ज ८०
प्रतिशतसम्म सीमित राख्न र आधिकारिक अडी डिलरमा थप परीक्षण गराउन सल्लाह दिइनेछ ।
अन्तिम प्राविधिक समाधान विकासकै
चरणमा छ । परीक्षणको नतिजाअनुसार थप कदम चालिने र आवश्यक गाडीमा अस्थायी चार्ज
सीमा कायम रहनेछ । ब्याट्री मूल्यांकनपछि सीमा हटाउन सकिने अवस्था भए ग्राहकलाई
त्यसबारे जानकारी दिइनेछ । कम्पनीले प्रभावित धनीलाई डिसेम्बर १८ भित्र अन्तरिम
सूचना पठाउने योजना राखेको छ । सम्बन्धित धनीले आफ्नो गाडीको पहिचान नम्बर अर्थात्
भिनबाट रिकलको अवस्था जाँच्न सक्छन् ।
यो अमेरिकी बजारमा पहिचान गरिएको
विशिष्ट रिकल हो । यसकै आधारमा नेपालमा रहेका सबै अडी इलेक्ट्रिक गाडी प्रभावित
छन् भन्न मिल्दैन । नेपालमा सम्बन्धित मोडल प्रयोगमा भए गाडीको भिन, उत्पादन विवरण
र रिकलमा समावेश समूह मिलाएर आधिकारिक सेवा प्रदायकसँग अवस्था पुष्टि गर्नुपर्छ ।