Newad1
Featured blog image

पल्सर एन२५०मा थपियो छैटौँ गियर, क्लचबिनै अपसिफ्ट गर्न मिल्ने

काठमाडौं । बजाज अटोले पल्सर एन२५०मा नयाँ गियरबक्स र थप इलेक्ट्रोनिक सुविधा समेटेर एन२५०एसएस लन्च गरेको छ । भारतीय बजारमा आएको यो संस्करणको मूल्य करिब १ लाख ५९ हजार भारु तोकिएको छ, जुन दिल्लीको एक्स–शोरुम मूल्य हो ।

नयाँ संस्करणमा २४९ सीसीको एयर तथा आयल–कुल्ड इन्जिनलाई चार भल्भ हेडसहित परिमार्जन गरिएको छ । यसले २५ एचपी पावर र २२ एनएम टर्क उत्पादन गर्छ । सामान्य एन२५०को तुलनामा पावर र टर्कको वृद्धि सामान्य रहे पनि गियरबक्स र सुविधामा बढी परिवर्तन गरिएको छ ।

यसअघि रहेको ५ स्पिड गियरबक्सको ठाउँमा ६ स्पिड गियरबक्स दिइएको छ । साथै, क्लच प्रयोग नगरी माथिल्लो गियरमा सार्न मिल्ने क्विकसिफ्टर पनि समावेश छ । यो सुविधा माथिल्लो गियर परिवर्तनका लागि हो ।

डिस्प्लेमा पनि परिवर्तन गरिएको छ । पुरानो एलसीडीको सट्टा ५ इन्चको टीएफटी डिस्प्ले राखिएको छ, जसमा गुगल म्याप्स मिररिङ सुविधा उपलब्ध छ । इलेक्ट्रोनिक थ्रोटलसँगै राइडिङ मोड पनि थपिएका छन् ।

सामान्य एन२५०भन्दा नयाँ संस्करण करिब १४ हजार भारु महँगो छ । यसरी थप रकम तिर्दा ग्राहकले पावरमा सामान्य वृद्धिसँगै अतिरिक्त गियर, क्विकसिफ्टर र नयाँ डिजिटल सुविधा पाउनेछन् ।

footer