बीवाईडीको आम्दानी २२१ अर्ब ५० करोड युआन, नाफा २८ प्रतिशत बढ्यो
काठमाडौँ । चिनियाँ गाडी उत्पादक बीवाईडीले सन् २०२६ को तेस्रो त्रैमासिकमा १० अर्ब युआन खुद नाफा कमाएको छ । अघिल्लो वर्षको समान अवधिभन्दा नाफा २८ प्रतिशत बढे पनि विश्लेषकहरूले गरेको अनुमानसम्म पुग्न सकेन ।
कम्पनीले अक्टोबर २९ मा सार्वजनिक
गरेको वित्तीय विवरणअनुसार जुलाईदेखि सेप्टेम्बरसम्म आम्दानी १३.६ प्रतिशत बढेर
२२१ अर्ब ५० करोड युआन पुगेको छ । लगातार चार त्रैमासिक घटेको आम्दानी यसपटक
वृद्धिमा फर्किएको हो ।
रोयटर्सले संकलन गरेका तीन ब्रोकरेजका
अनुमानमा कम्पनीको त्रैमासिक नाफा ११ अर्ब ४० करोडदेखि १२ अर्ब ९५ करोड युआनसम्म
पुग्ने अपेक्षा थियो । दोस्रो त्रैमासिकमा नाफाको वार्षिक वृद्धिदर ३० प्रतिशत
रहेकामा तेस्रो त्रैमासिकमा २८ प्रतिशतमा सीमित भएको छ ।
यही अवधिमा बीवाईडीको विश्वव्यापी
गाडी बिक्री १८.८ प्रतिशत बढेर १३ लाख २० हजारभन्दा बढी पुगेको छ । विदेशतर्फ
पठाइएका गाडीको संख्या दोब्बरभन्दा बढी हुँदा चीनभित्रको कमजोर बिक्रीलाई केही
भरथेग मिलेको छ ।
अन्तर्राष्ट्रिय कारोबार विस्तारसँगै
कम्पनीको मौज्दात र व्यापारिक कारोबारबाट उठाउन बाँकी रकम पनि बढेका छन् ।
सेप्टेम्बर अन्त्यसम्म मौज्दातको मूल्य गत वर्षको अन्त्यभन्दा ६०.१ प्रतिशत र
उठाउन बाँकी रकम ५२.६ प्रतिशत बढेको छ । वित्तीय विवरणमा यसको मुख्य कारण विदेशमा
अटो व्यवसायको विस्तार रहेको उल्लेख छ ।
विदेशमा उत्पादन विस्तार गर्ने क्रममा
कम्पनीले ब्राजिलस्थित कारखानाको वार्षिक उत्पादन क्षमता दोब्बर बनाएर ६ लाख गाडी
पुर्याउन नियामकीय स्वीकृति खोजिरहेको छ ।