Newad1
Featured blog image

रोल्स–रोयससँग प्रतिस्पर्धाको तयारीमा बीवाईडीको लक्जरी सेडान ‘अल्टियर’

चिनियाँ गाडी निर्माता बीवाईडीको उच्च लक्जरी ब्रान्ड याङवाङले नयाँ फ्ल्यागसिप सेडान ‘अल्टियर’को नाम र टिजर सार्वजनिक गरेको छ । रोल्स–रोयस घोस्ट र मर्सिडिज–मेब्याक एस–क्लासजस्ता महँगा सेडानसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको यो गाडीमा विपरीत दिशामा खुल्ने पछाडिका ढोका राखिएका छन् ।

यसअघि ‘एचयू’ कोडनेमबाट चिनिएको गाडी चीनमा ‘डिङयाओ’ र अन्तर्राष्ट्रिय बजारमा ‘अल्टियर’ नामले चिनिनेछ । अल्टियर ल्याटिन भाषाबाट लिइएको नाम हो, जसको अर्थ ‘अझ उच्च’ हुन्छ ।

सार्वजनिक टिजरमा लामो बोनट, अगाडिको ठूलो ग्रिल, क्रोमयुक्त ठूला पांग्रा र छतमा लाइडार सेन्सर देखिन्छ । अगाडिको भागमा याङवाङ यू८ एसयूभीको डिजाइन झल्किन्छ । कम्पनीका अनुसार ढोका झन्डै ९० डिग्रीसम्म खुल्छन्, जसले यात्रुलाई चढ्न र ओर्लन फराकिलो ठाउँ दिन्छ ।

प्रारम्भिक रिपोर्टहरूमा यसको लम्बाइ करिब ५,५०० मिमि र ह्विलबेस ३,३५० मिमि रहने उल्लेख छ । मूल्य करिब २० लाख चिनियाँ युआन हुन सक्ने अनुमान गरिएको छ । कम्पनीले भने अन्तिम मूल्य, मोटर, ब्याट्री क्षमता, रेन्ज र चार्जिङसम्बन्धी पूर्ण विवरण सार्वजनिक गरेको छैन ।

अल्टियरको पहिलो अनावरण संयुक्त अरब इमिरेट्समा गर्ने तयारी छ । दुबईमा नोभेम्बर ५ आसपास सार्वजनिक हुन सक्ने रिपोर्ट आए पनि कम्पनीले अनावरणको ठ्याक्कै मिति घोषणा गरेको छैन ।

footer