Newad1
Featured blog image

बीवाईडीको नयाँ रणनीति, एट्टो १ लाई डल्फिनको आकार नजिक पुर्‍याइयो

काठमाडौं । नेपालमा बीवाईडी एट्टो १ नामबाट बिक्री हुने बीवाईडीको सानो विद्युतीय ह्याचब्याकको नयाँ पुस्ताबारे महत्त्वपूर्ण विवरण सार्वजनिक भएको छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) ले जुलाई १० मा सार्वजनिक गरेको नयाँ नियामकीय सूचीमा यस मोडलको डिजाइन, आकार, मोटर तथा प्राविधिक विवरण समावेश गरिएको हो ।

चीनमा बीवाईडी सिगल नामबाट चिनिने यही मोडल अन्तर्राष्ट्रिय बजारमा भने बीवाईडी एट्टो १, डल्फिन सर्फ वा डल्फिन मिनी नामबाट बिक्री गरिन्छ । नेपालमा यो गाडी एट्टो १ नाममै आउने नेपाली ग्राहकका लागि सार्वजनिक भएको यो विवरण निकै चासोको विषय बनेको छ ।


यसपटक कम्पनीले एट्टो १ मा सामान्य फेसलिफ्टभन्दा धेरै ठूलो परिवर्तन गरेको देखिन्छ । नयाँ मोडलको लम्बाइ ४,२०५ मिलिमिटर, चौडाइ १,८१० मिलिमिटर र उचाइ १,५७० मिलिमिटर रहेको छ । यसको ह्विलबेस २,६५० मिलिमिटर पुगेको छ, जुन अघिल्लो संस्करणभन्दा १५० मिलिमिटर लामो हो । समग्र बडी लम्बाइ पनि ४२५ मिलिमिटरले बढाइएकाले यो अब कम्पनीकै ठूलो ह्याचब्याक डल्फिन को आकार नजिक पुगेको छ ।

पावरट्रेनमा पनि उल्लेखनीय सुधार गरिएको छ । नयाँ एट्टो १ मा ९५ किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले १२७ अश्वशक्ति उत्पादन गर्छ । अघिल्लो संस्करणमा ५५ किलोवाट क्षमताको मोटर प्रयोग गरिएको थियो । नयाँ मोटरसँगै गाडीको अधिकतम गति १५० किलोमिटर प्रतिघण्टा पुगेको नियामकीय विवरणमा उल्लेख छ ।

ऊर्जा भण्डारणका लागि कम्पनीले आफ्नै फिनड्रिम्स ले उत्पादन गरेको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरेको छ । बीवाईडीका अधिकांश विद्युतीय सवारीमा प्रयोग हुँदै आएको यही ब्याट्री प्रविधि उच्च सुरक्षा, लामो आयु र विश्वसनीयताका लागि परिचित छ ।

बढेको आकारसँगै गाडीको तौल पनि केही बढेको छ । आधारभूत संस्करणको कर्ब वेट १,१८० किलोग्राम रहेको छ भने उच्च संस्करणमा यो १,२५५ किलोग्राम पुग्छ । पाँच सिट क्षमता भएको एट्टो १ मा २०५/६० आर१६ टायर, नयाँ एलोय ह्विल डिजाइन, साइड स्कर्ट, फेन्डर ट्रिम तथा विभिन्न बाह्य स्टाइलिङ विकल्प उपलब्ध गराइनेछ ।

स्मार्ट ड्राइभिङ प्रविधिमा पनि कम्पनीले सुधार गरेको देखिन्छ । उच्च संस्करणमा पछाडिको माथिल्लो ब्रेक लाइट नजिक क्यामेरा जडान गर्ने विकल्प राखिएको छ । यसअघि परीक्षणका क्रममा लिडार प्रविधिसहितको संस्करण पनि देखिएकाले आगामी दिनमा अझ उन्नत चालक सहायता प्रणाली समावेश हुने अपेक्षा गरिएको छ ।

बीवाईडीले एट्टो १ मा गरेको यो परिवर्तनलाई चीनमा बढ्दो प्रतिस्पर्धासँग जोडेर हेरिएको छ । साना विद्युतीय गाडीको बजारमा जिलीसहित अन्य चिनियाँ ब्रान्डले आक्रामक रूपमा नयाँ मोडल ल्याइरहेका बेला बीवाईडीले पनि आफ्नो प्रवेशस्तरको लोकप्रिय मोडललाई अझ फराकिलो, शक्तिशाली र प्रविधियुक्त बनाउने रणनीति अपनाएको विश्लेषण गरिएको छ ।


footer