भारी इलेक्ट्रिक ट्रकमा दुई ब्याट्री, पाँच मिनेटमै मुख्य ब्याट्री बदल्ने सीएटीएलको प्रविधि
काठमाडौं । चिनियाँ ब्याट्री निर्माता सीएटीएलले भारी इलेक्ट्रिक ट्रकका लागि मुख्य र सहायक ब्याट्री मिलेर काम गर्ने नयाँ प्रणाली लन्च गरेको छ । अक्टोबर २० मा बेइजिङमा प्रस्तुत गरिएको प्रणालीमा मुख्य ब्याट्री स्टेसनमा बदल्न सकिन्छ भने सहायक ब्याट्री ट्रकमै रहन्छ ।
मुख्य ब्याट्रीका लागि ४३२ र ५१३
किलोवाट आवरका दुई विकल्प छन् । चालक बस्ने क्याबिनपछाडि रहने सहायक ब्याट्रीको
क्षमता ७७ किलोवाट आवर छ । मुख्य ब्याट्रीमा चार्ज कम भएपछि सहायक ब्याट्रीले ट्रक
चलाउन ऊर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
कम्पनीका अनुसार सहायक ब्याट्रीको भर
हुँदा चालकले मुख्य ब्याट्रीमा बाँकी ऊर्जा बढी उपयोग गर्न सक्छन् । यसले स्वापिङ
स्टेसन पुग्नुअघि नै धेरै चार्ज बाँकी राखेर ब्याट्री बदल्नुपर्ने आवश्यकता घटाउने
र भाडामा लिइएको ब्याट्रीको उपयोग बढाउने कम्पनीको दाबी छ ।
सीएटीएलले आफ्नो ‘चिजी’ स्वापिङ
प्रणालीबाट करिब पाँच मिनेटमा मुख्य ब्याट्री बदल्न सकिने जनाएको छ । यो ब्याट्री
चार्ज गर्ने समय नभई चार्ज भएको अर्को ब्याट्री जडान गर्ने समय हो । मुख्य
ब्याट्री ढुवानीको आवश्यकताअनुसार भाडामा लिन सकिने भएकाले काम कम हुने समयमा खर्च
घटाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ ।
कम्पनीले चीनमा सन् २०२६ को अन्त्यसम्म ९०० र सन् २०२७ सम्म २ हजार भारी ट्रक ब्याट्री स्वापिङ स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा १३ हजार सवारीका लागि सम्झौता भएको पनि जनाएको छ ।