Newad1
Featured blog image

३३ लाख ९९ हजारको चेरी क्यू प्रिमियम, मूल्यअनुसार के छ खास ?

काठमाडौँ । चेरी क्यूको प्रिमियम भेरियन्ट नेपाली बजारमा ३३ लाख ९९ हजार रुपैयाँको अफर मूल्यमा बिक्री सुरु भएको छ । आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले यसको नियमित मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेर दुई लाख रुपैयाँ छुट घोषणा गरेको हो ।

गाडी खरिदसँगै अटो प्लस बिमा र सात किलोवाटको चार्जर उपलब्ध गराउने कम्पनीले जनाएको छ । अफरमा ११ वर्ष वा दुई लाख ४० हजार किलोमिटरसम्मको एक्स्टेन्डेड वारेन्टी पनि समावेश छ ।

चेरी क्यू प्रिमियममा पछाडिका पाङ्ग्रामा शक्ति पठाउने रियर ह्विल ड्राइभ प्रणाली र ४१.२ किलोवाट आवरको ब्याट्री छ । एकपटक पूरा चार्ज गर्दा ४०० किलोमिटरसम्म चल्ने कम्पनीको दाबी छ । यो गाडीले अधिकतम ८५ किलोवाटको डीसी फास्ट चार्जिङ स्वीकार गर्छ । कम्पनीका अनुसार ब्याट्रीको चार्ज ३० बाट ८० प्रतिशत पुर्‍याउन १६ मिनेट लाग्छ । गाडीको ब्याट्रीबाट बाहिरी विद्युतीय उपकरण चलाउन मिल्ने भीटुएल सुविधा पनि दिइएको छ ।

यसमा १८० एमएम ग्राउन्ड क्लियरेन्स, १५.६ इन्चको टचस्क्रिन र ५४० डिग्री सराउन्ड क्यामेरा उपलब्ध छन् । चालकलाई सघाउने एडास प्रणालीअन्तर्गत २० भन्दा बढी सुविधा रहेको कम्पनीले उल्लेख गरेको छ ।

सामान राख्न पछाडि ३७५ लिटरको बुट छ । पछाडिका सिट फोल्ड गरेपछि यो ठाउँ १ हजार ४५० लिटरसम्म बढाउन सकिन्छ । अगाडिको भागमा थप ७५ लिटरको भण्डारण स्थान अर्थात् फ्रङ्क उपलब्ध छ ।

कम्पनीका अनुसार चेरी क्यूले रेड डट डिजाइन अवार्ड २०२५ र आईएफ डिजाइन अवार्ड २०२६ प्राप्त गरेको छ । यसअघि नाइमा र नाडा अटो शोमा प्रदर्शन गरेर बुकिङ खुलाइएको गाडी अहिले ग्राहकलाई हस्तान्तरण गर्न थालिएको हो । काठमाडौँसहित चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा डेलिभरी सुरु भएको कम्पनीले जनाएको छ ।

footer