चीनको नयाँ मापदण्ड: अब ईभी ब्याट्रीमा आगो लाग्न नहुने, फिजिकल पावर अफ पनि अनिवार्य

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी (EV) बजार रहेको चीनले आगामी जुलाई  १, २०२६ देखि नयाँ ऊर्जा सवारी (NEV) को सुरक्षा स्तरलाई थप मजबुत बनाउने गरी दुई नयाँ अनिवार्य राष्ट्रिय मापदण्ड लागू गर्ने भएको छ । नयाँ नियमअनुसार अब चीनमा बिक्री हुने विद्युतीय सवारीहरूमा 'नो-फायर' (आगो नलाग्ने) ब्याट्री सुरक्षा मापदण्ड र फिजिकल वन-टच पावर अफ प्रणाली अनिवार्य रूपमा हुनुपर्नेछ ।

चिनियाँ अधिकारीहरूले लागू गर्न लागेका 'Safety Requirements for Electric Vehicles (GB18384—2025)' र 'Safety Requirements for Power Batteries for Electric Vehicles (GB38031—2025)' नामक यी दुई मापदण्डले सवारी तथा ब्याट्री दुवैको सुरक्षा स्तरलाई उल्लेखनीय रूपमा उकास्ने अपेक्षा गरिएको छ ।

नयाँ नियमअनुसार सफ्टवेयरमा मात्र निर्भर रहने प्रणालीको सट्टा अब प्रत्येक ईभीमा फिजिकल 'वन-टच पावर अफ' स्विच हुनु अनिवार्य हुनेछ । यो प्रणालीले दुर्घटना वा कुनै पनि आपतकालीन अवस्थामा चालक वा उद्धार टोलीलाई एकै बटनबाट हाई-भोल्टेज सर्किटलाई ब्याट्रीबाट तुरुन्तै अलग गर्ने सुविधा दिनेछ, जसले उद्धार कार्यलाई अझ सुरक्षित र छिटो बनाउने विश्वास गरिएको छ ।

ब्याट्री सुरक्षासँग सम्बन्धित मापदण्ड भने अघिभन्दा निकै कडा बनाइएको छ ।  हालसम्म थर्मल रनअवेका क्रममा आगो वा विस्फोट हुनुअघि कम्तीमा पाँच मिनेट समय दिएर चेतावनी दिनुपर्ने व्यवस्था थियो, तर नयाँ नियम अनुसार अब ब्याट्रीमा आगो वा विस्फोट नै हुन नहुने गरी मापदण्ड तय गरिएको छ ।  यसका साथै ब्याट्रीबाट कुनै धुवाँ निस्किएमा पनि त्यसले सवारीभित्र रहेका यात्रुहरूको स्वास्थ्यमा कुनै असर पार्न नहुने व्यवस्था पनि गरिएको छ ।

सुरक्षा सुनिश्चित गर्नका लागि ब्याट्रीमा गरिने परीक्षणहरूमा पनि थप विस्तार गरिएको छ । गाडीको तल्लो भागमा ठोक्किने प्रकृतिका दुर्घटनामा ब्याट्री सुरक्षित रहन्छ कि रहन्न भन्ने जाँच गर्न बटम इम्प्याक्ट टेस्ट अनिवार्य गरिएको छ ।  साथै, ३०० पटक फास्ट चार्जिङ गरिसकेपछि पनि ब्याट्रीमा बाह्य सर्ट सर्किट हुँदा आगो वा विस्फोट नहुने कुरा प्रमाणित गर्नुपर्ने व्यवस्था राखिएको छ ।

विशेषज्ञहरूका अनुसार यी नयाँ मापदण्डले कम गुणस्तर र सस्तो उत्पादनमार्फत हुने अस्वस्थ प्रतिस्पर्धालाई घटाउँदै सम्पूर्ण उद्योगलाई गुणस्तरीय उत्पादनतर्फ केन्द्रित गराउने अपेक्षा गरिएको छ । यसले प्रयोग गरिएका ईभीहरूको मूल्याङ्कन प्रणालीलाई समेत व्यवस्थित बनाउने, बीमा कम्पनीहरूको जोखिम घटाउने तथा पुराना विद्युतीय सवारीको बीमा गर्ने काम सहज बनाउने अपेक्षा गरिएको छ ।

चिनियाँ इन्जिनियरिङ एकेडेमीका शिक्षाविद् तथा ब्याट्री निर्माता कम्पनी CATL का प्रमुख वैज्ञानिक वु काईले नयाँ मापदण्ड पूर्ण रूपमा कार्यान्वयनमा आएपछि चीनमा विद्युतीय सवारीमा हुने स्वतः आगलागी (Spontaneous Combustion) को दर परम्परागत पेट्रोल तथा डिजेल इन्जिनयुक्त सवारीभन्दा झण्डै दश गुणासम्म कम हुने अपेक्षा रहेको बताएका छन् ।

विश्वकै अग्रणी ब्याट्री निर्माता कम्पनी CATL ले आफ्ना सबै मास-प्रोडक्सन ब्याट्री उत्पादनले नयाँ राष्ट्रिय मापदण्ड मे २०२५ मै पूरा गरिसकेको जनाएको छ भने BYD ले आफ्नो दोस्रो पुस्ताको ब्लेड ब्याट्रीले नयाँ सुरक्षा मापदण्ड पार गर्नुका साथै आवश्यक स्तरभन्दा पनि उच्च प्रदर्शन गरेको दाबी गरेको छ ।

उद्योग विश्लेषकहरूका अनुसार भने यी कडा सुरक्षा मापदण्डका कारण पावर ब्याट्री उत्पादन लागत केही बढ्न सक्ने र यसको प्रभाव जुलाईपछि सार्वजनिक हुने नयाँ ईभी मोडलहरूको मूल्यमा समेत देखिन सक्ने आकलन गरिएको छ ।  यद्यपि अन्तिम मूल्य भने सम्बन्धित अटोमोबाइल कम्पनीहरूको लागत व्यवस्थापन र मूल्य निर्धारण रणनीतिमा नै निर्भर रहनेछ ।

यसैबीच चीन सरकारले विद्युतीय सवारी सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यले वाहनका लागि फायर डिटेक्टर (GB47497—2026) लगायतका थप नयाँ मापदण्डहरू पनि विकास गरिरहेको छ, जसले ब्याट्रीमा हुने थर्मल रनअवे अवस्थाको प्रारम्भिक चेतावनी दिने काममा मद्दत पुग्ने लक्ष्य राखिएको छ ।