Newad1
Featured blog image

अस्ट्रियाको कारखानाबाट किन निस्कँदैछन् चिनियाँ विद्युतीय ट्रक ?

काठमाडौं । युरोपमा विद्युतीय सवारीको प्रतिस्पर्धा अब केवल यात्रुवाहक कारमा सीमित रहेन । माल ढुवानीका ठूला ट्रकसम्म पुगिसकेको यो प्रतिस्पर्धामा चिनियाँ कम्पनीहरूले नयाँ रणनीति अपनाएका छन्, जसले स्थापित युरोपेली ट्रक उत्पादकलाई थप सतर्क बनाउने संकेत देखिएको छ ।

चीनका दुई ट्रक निर्माता सुपरप्यान्थर र साइनोट्रकले अस्ट्रियामा स्थानीय एसेम्बलीमार्फत विद्युतीय हेभी ट्रक बजारमा उपस्थिति बढाउन थालेका छन् । चीनबाट पूरै तयार ट्रक पठाउनुको साटो मुख्य मोड्युलहरू पठाएर युरोपमै जोड्ने मोडेल अपनाइएपछि उनीहरूलाई बजारमा छिटो पुग्न, लागत घटाउन र स्थानीय मागअनुसार काम गर्न सहज भएको छ ।

सुपरप्यान्थरको ‘ई–टोपास ६००’ मोडेल अहिले अस्ट्रियाको स्टेयर अटोमोटिभ कारखानाबाट बाहिरिन थालेको छ । उत्पादन भएका सुरुआती ट्रकहरू डीएचएल, ग्रेस, टेमेल र लोन्क्सजस्ता ढुवानी तथा व्यावसायिक प्रयोगकर्तासम्म पुगेका छन् । चीनको ठूलो हेभी ट्रक निर्माता साइनोट्रकले पनि गत मार्चदेखि यही कारखानामार्फत आफ्ना मोडेल जोड्ने काम सुरु गरिसकेको बताइएको छ ।

हाल यी ट्रकहरू सेमी–नक्ड डाउन अर्थात् आंशिक रूपमा जोडिएका पार्टपुर्जा युरोप पठाएर अन्तिम एसेम्बली गर्ने प्रक्रियाबाट उत्पादन भइरहेका छन् । स्टेयर अटोमोटिभले उत्पादन परिमाण बढेपछि साइनोट्रकका लागि आफ्नै क्याबिन निर्माण लाइन र पेन्टिङ सुविधा पनि प्रयोग गर्न सक्ने जनाएको छ ।

सुपरप्यान्थरको ई–टोपास ६०० मा क्याटलले उपलब्ध गराएको ६२१ किलोवाट–आवर क्षमताको लिथियम–आइरन–फस्फेट ब्याट्री प्रयोग गरिएको छ । एउटै ई–एक्सलभित्र राखिएका दुई विद्युतीय मोटरले ट्रकलाई निरन्तर ५२८ हर्सपावर शक्ति दिन्छन् भने उच्च माग पर्दा शक्ति ९२८ हर्सपावरसम्म पुग्ने कम्पनीको दाबी छ ।

८७६ भोल्ट प्रणालीमा बनेको यो ट्रकमा दुईवटा सीसीएस–२ चार्जिङ पोर्ट राखिएका छन् । दुई चार्जरबाट एकैपटक ऊर्जा लिन सक्ने व्यवस्थाका कारण परीक्षणमा यसले अधिकतम ६४६ दशमलव ७ किलोवाट चार्जिङ गति हासिल गरेको बताइएको छ । कम्पनीका अनुसार २० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न ३८ मिनेटभन्दा कम समय लाग्छ ।

ट्रकको खाली तौल १० दशमलव ८ टन छ भने कुल संयोजन तौल ४२ टनसम्म छ । मिश्रित भार बोकेर वास्तविक सडक प्रयोगमा करिब ६०० किलोमिटरसम्म चल्न सक्ने दाबी गरिएको छ । परीक्षण समूहबाट प्राप्त औसत ऊर्जा खपत प्रतिकिलोमिटर ० दशमलव ९५ किलोवाट–आवर रहेको कम्पनीले जनाएको छ ।

चिनियाँ उत्पादकले युरोपमै एसेम्बली रोज्नुले विद्युतीय ट्रक उद्योग अब प्रविधिको प्रतिस्पर्धामात्र नभई उत्पादन, आपूर्ति शृङ्खला र बजारमा छिटो पहुँचको प्रतिस्पर्धा पनि बनेको स्पष्ट देखाएको छ ।

footer