ग्राहक, कर्मचारी र समाजलाई केन्द्रमा राख्दै यामाहाले मनायो ७१ औँ ‘यामाहा डे’
काठमाडौं । मोटरसाइकल तथा स्कुटर निर्माता यामाहाले आफ्नो ७१ औँ वार्षिकोत्सव नेपालभर विविध सामाजिक, ग्राहकमुखी र सम्मान कार्यक्रममार्फत भव्य रूपमा मनाएको छ । प्रत्येक वर्ष जुलाई १ लाई ‘यामाहा डे’ का रूपमा मनाउँदै आएको कम्पनीले यस वर्ष सातै प्रदेशमा एकसाथ विभिन्न गतिविधि सञ्चालन गर्दै सात दशकभन्दा लामो आफ्नो यात्रालाई स्मरण गरेको हो ।
वार्षिकोत्सवको अवसरमा देशभर रहेका यामाहाका शोरुम, डिलरशिप तथा कम्पनीद्वारा सञ्चालित आउटलेटहरूमा उद्घाटन तथा केक काट्ने कार्यक्रम आयोजना गरिएको थियो । यस क्रममा कम्पनीमा दुई दशकदेखि निरन्तर सेवा गर्दै आएका कर्मचारीहरूलाई विशेष सम्मान गरिएको थियो । नेपालभर रहेका १०० भन्दा बढी डिलर डिजिटल माध्यमबाट कार्यक्रममा जोडिएका थिए भने यामाहा मोटर इन्डियाको सहभागिताले समारोहलाई थप विशेष बनाएको कम्पनीले जनाएको छ ।
ग्राहकलाई लक्षित गर्दै कम्पनीले देशभरका सर्भिस सेन्टर मा लेबर चार्जमा २५ प्रतिशत छुट उपलब्ध गराएको थियो । साथै ‘७ प्रदेश, ७ ग्राहक’ अभियानअन्तर्गत प्रत्येक प्रदेशबाट एक–एक जना भाग्यशाली ग्राहकलाई सर्भिस शुल्कमा शतप्रतिशत क्यासब्याक प्रदान गरिएको थियो । जुलाई १ कै दिन नयाँ मोटरसाइकल खरिद गरी डेलिभरी लिने ग्राहकलाई विशेष वार्षिकोत्सव चकलेट पनि वितरण गरिएको थियो ।
सामाजिक उत्तरदायित्व (CSR) लाई प्राथमिकतामा राख्दै यामाहाले देशका विभिन्न शहरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । धनगढी, पोखरा, नक्साल, गट्ठाघर, भरतपुर, बर्दिबास तथा इटहरीस्थित सात शोरुममार्फत सञ्चालन गरिएको रक्तदान अभियानबाट करिब ३५० युनिट रगत संकलन भएको कम्पनीले जनाएको छ । यस्तै, विराटनगरस्थित आफ्नो प्लान्ट परिसरमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।
वार्षिकोत्सवको अर्को विशेष आकर्षण पर्सामा आयोजना गरिएको सामाजिक उत्तरदायित्व कार्यक्रम रह्यो । यामाहा पर्साले खैरहनीस्थित श्री धर्मेश्वर आधारभूत विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ७ सम्मका सात जना विपन्न विद्यार्थीको कक्षा १२ सम्मको अध्ययन खर्च व्यहोर्ने घोषणा गरेको छ । उनीहरूलाई आवश्यक शैक्षिक सामग्री समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यसै अवसरमा १६ वर्षदेखि ४० वर्षसम्म निरन्तर यामाहा सवारी प्रयोग गर्दै आएका ६ जना पुराना ग्राहकलाई सम्मान गरिएको थियो । यस्तै, यामाहा मोटरसाइकलमा १ लाखदेखि २ लाख किलोमिटरसम्म यात्रा पूरा गरेका पाँच जना राइडर लाई पनि विशेष सम्मान प्रदान गरिएको छ ।
पूर्वी चितवनमा प्रि–ओन्ड अर्थात् सेकेन्ड ह्यान्ड सवारी व्यवसायको सुरुआत गर्ने एक जना उद्यमी तथा विगत ३२ वर्षदेखि निरन्तर यस क्षेत्रमा सक्रिय तीन जना मेकानिक लाई पनि कम्पनीले सम्मान गर्दै उनीहरूको योगदानको कदर गरेको छ ।
एमएडब्लू राइड्स प्रा. लि.का प्रबन्ध निर्देशक तथा अध्यक्ष विष्णु अग्रवालले यामाहा आज नेपालभर करिब ४०० परिवारको प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीसँग जोडिएको बताउँदै कम्पनीको सफलता डिलर, ग्राहक तथा समुदायको विश्वासकै परिणाम भएको उल्लेख गरे । ट्राफिक सचेतना, रक्तदान, वृक्षारोपण र परोपकारी अभियानजस्ता गतिविधिले यामाहाको सामाजिक प्रतिबद्धतालाई अझ बलियो बनाएको उनको भनाइ थियो ।
यसै अवसरमा यामाहा नेपालले काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनमा सहयोग गर्दै सडक सुरक्षा सचेतना अभियान सञ्चालन गरेको थियो । कम्पनीको लेगेसी राइडिङ कम्युनिटी ‘ब्लू स्ट्रिक्स’ ले बूढानीलकण्ठस्थित माउन्टेन चिल्ड्रेन्स होममा परोपकारी राइड आयोजना गरी बालबालिकालाई सहयोग समेत गरेको थियो ।
यामाहाका नेपालस्थित ब्रान्ड एम्बेसडर अनुप विक्रम शाहीले ७१ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै ब्रान्ड र राइडरबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । यस्तै, यामाहाका ग्लोबल चेयरम्यान सितारा सान तथा जापानका प्रतिनिधिहरूले पनि भिडियो सन्देशमार्फत यामाहा नेपालको उपलब्धिको प्रशंसा गरेका थिए ।
एमएडब्लू ग्रुपअन्तर्गत सञ्चालन भइरहेको यामाहा नेपालले जापानी प्रविधि, विश्वसनीयता, उत्कृष्ट आफ्टर सेल्स सर्भिस तथा उच्च पर्फर्मेन्स मा आधारित टु–ह्विलर उत्पादनमार्फत नेपाली बजारमा आफ्नो बलियो उपस्थिति कायम राख्दै आएको जनाएको छ । साथै, रक्तदान अभियान सफल बनाउन सहयोग पुर्याएको एमएडब्लू फाउन्डेसन तथा लायन्स क्लब अफ काठमाडौं–समर्पणप्रति कम्पनीले आभार समेत व्यक्त गरेको छ ।