दसैँको टिकट बुकिङ असोज २३ देखि, दुई चालक अनिवार्य र बढी भाडा लिए कारबाही
काठमाडौं । दसैँमा घर जाने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा असोज २० गते मंगलबार बसेको सरोकारवालाको बैठकले बुकिङ खोल्ने मिति तय गर्नुका साथै यात्रु सुरक्षा र टिकट व्यवस्थापनसम्बन्धी निर्णय गरेको हो ।
विभाग, यातायात व्यवसायी, मजदुर
संगठन, प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापनका प्रतिनिधिबीच भएको छलफलपछि अग्रिम
बुकिङ खुलाउने सहमति जुटेको हो । दसैँ नजिकिँदा पनि बुकिङको मिति नतोकिँदा घर
फर्कने तयारीमा रहेका यात्रु अन्योलमा थिए । केही यातायात कम्पनीले भने
अनलाइनमार्फत बुकिङ लिइरहेका छन् ।
बैठकले लामो दूरीमा सञ्चालन हुने
सवारीसाधनमा दुई जना चालक अनिवार्य राख्ने निर्णय गरेको छ । टिकट काउन्टरका
कर्मचारीले परिचयपत्र र निर्धारित पोसाक लगाउनुपर्नेछ भने टिकट काट्दा यात्रुको
नाम तथा सम्पर्क नम्बर अभिलेखमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा
अनियमितता गर्ने तथा कालोबजारी गर्नेमाथि कारबाही गरिनेछ । यात्रुवाहक सवारीसाधनमा
प्राथमिक उपचार सामग्री, आगो निभाउने उपकरण र पिउने पानी उपलब्ध गराउनुपर्ने
निर्णय पनि भएको छ ।
राजमार्गमा हुने अवरोध तथा दुर्घटनाको जानकारी आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । दसैँमा बसपार्क र टिकट काउन्टरमा बढ्ने यात्रुको चाप व्यवस्थापनका लागि सुरक्षा निकाय परिचालन तथा सम्बन्धित निकायबीच समन्वय गर्ने विषयमा समेत बैठकले जोड दिएको छ ।