Newad1
Featured blog image

अग्रिम टिकटसँगै बसको अवस्था जाँच्ने तयारी, गोंगबुमा निःशुल्क सेवा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँमा यात्रा गर्ने यात्रुसँग सरकारले निर्धारण गरेकोभन्दा बढी भाडा नलिन आफ्ना सदस्य व्यवसायीलाई निर्देशन दिएको छ । असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएपछि महासंघले तोकिएकै भाडामा टिकट उपलब्ध गराउन र यात्रालाई सुरक्षित बनाउन आग्रह गरेको हो ।

महासंघका महासचिव डेकनाथ गौतमले निर्धारित दरभन्दा बढी भाडा असुल्ने सवारीमाथि कारबाही हुने बताएका छन् । महासंघले सातवटै प्रदेश समिति, जिल्ला समिति र सम्बद्ध व्यवसायीलाई भाडादर पालना तथा टिकट व्यवस्थापनका लागि निर्देशन पठाएको जनाएको छ ।

टिकट बिक्री गर्ने काउन्टरका कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र लगाउनुपर्नेछ । यात्रुलाई सहज रूपमा टिकट उपलब्ध गराउने र चाडपर्वको यात्रालाई व्यवस्थित बनाउने विषयमा पनि महासंघले जोड दिएको छ ।

यात्रुवाहक सवारीको प्राविधिक अवस्था जाँच्न काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा निःशुल्क परीक्षणको व्यवस्था मिलाइने भएको छ । यसका लागि टेकुस्थित सवारी परीक्षण कार्यालयबाट प्राविधिक कर्मचारी खटाइनेछन् ।

अग्रिम टिकट बुकिङ खुलाउने निर्णय यसअघि नै भएको थियो । बुकिङ सुरु हुने मिति नजिकिएसँगै महासंघले भाडादर पालना, काउन्टर कर्मचारीको पहिचान र सवारीको प्राविधिक परीक्षणलाई प्राथमिकता दिएको हो ।

footer