Newad1
Featured blog image

एकै दिन ८५ हजार यात्रु बाहिरिए, समयमा गाडी फर्काउनै कठिनाइ

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्दै जाँदा असोज २९ गते एकै दिन ८५ हजार ५६१ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि असोज २९ गतेसम्म उपत्यका छाड्ने यात्रुको संख्या ३ लाख ४८ हजार ३१४ पुगेको छ ।

उपत्यकाबाट बाहिरिने यात्रु असोज २५ गते ५२ हजार ८२७ जना थिए । असोज २७ गते यो संख्या ७८ हजार १३८ पुगेको थियो भने २८ गते ७४ हजार ९७९ जना बाहिरिएका थिए । पछिल्लो दिन यात्रुको संख्या फेरि बढेर ८५ हजार नाघेको हो ।

यात्रुको चापसँगै बिग्रिएका राजमार्गले सवारी व्यवस्थापनमा कठिनाइ थपेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष तथा नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले बताएका छन् । उनका अनुसार सडकको अवस्थाका कारण गाडी गन्तव्यमा पुग्न र काठमाडौं फर्किन समय लाग्दा यात्रुका लागि सवारी मिलाउन समस्या भएको छ ।

दशैंका लागि असोज २३ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुलाइएको थियो । असोज २९ गतेसम्म १ लाख ५३ हजार ७३२ यात्रुले अग्रिम टिकट लिएको ट्राफिक प्रहरीको तथ्यांक छ ।

महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न र सरकारले तोकेको भाडा तिर्न आग्रह गरेको छ । यात्रा गर्नुअघि सवारीसाधनको अवस्था हेर्न पनि महासङ्घको अनुरोध छ ।

footer