Newad1
Featured blog image

दशैंमा घर फर्किने चाप बढ्यो, दुई दिनमै एक लाख बढीले छाडे काठमाडौं

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै दुई दिनमा काठमाडौं उपत्यकाबाट १ लाख ९ हजार ६३६ यात्रु बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २५ र २६ गते थानकोट–नागढुंगा, साँगा र दक्षिणकालीलगायत नाकाबाट उक्त संख्यामा यात्रु बाहिरिएका हुन् ।

असोज २५ गते ५२ हजार ८२७ यात्रुले उपत्यका छाडेकामा असोज २६ गते संख्या बढेर ५६ हजार ८०९ पुगेको थियो । दुई दिनमा बाहिरिएकामध्ये ६७ हजार ६९० पुरुष र ४१ हजार ९४६ महिला छन् । असोज २७ गतेको तथ्यांक भने विवरण सार्वजनिक हुँदासम्म आएको थिएन ।

लामो दूरीको यात्रामा टिकट र सवारी सेवासँगै खाना तथा खाजाका लागि रोकिने होटलको सरसफाइ, खाद्य गुणस्तर र मूल्य पनि यात्रुको हितसँग जोडिन्छन् । यस्तो अवस्थामा खाना खुवाउन सवारी रोक्ने स्थान छनोट गर्दा चालक तथा यातायात व्यवसायीले समेत ध्यान दिन आवश्यक हुन्छ ।

यात्राका क्रममा हुने ठगी र सेवासम्बन्धी गुनासा सम्बोधन गर्न ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेका अनुसार टिकटमा हुने कालोबजारी, ठगी र यात्रुका गुनासा सहायता कक्षमार्फत सम्बोधन भइरहेको छ ।

footer