दाउन्ने दुर्घटनामा दुई क्रेन लगाएर च्यापिएका यात्रुको उद्धार
काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस शनिबार असोज १७ गते बिहान पूर्वी नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये पाँच जनाको पहिचान खुलेको छ भने एक पुरुषको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा कम्तीमा १० जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत
विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस
पल्टिएको हो । बिहान करिब ४ बजे बस अनियन्त्रित भएर सडकछेउको नालामा पल्टिएको
प्रहरीलाई उद्धृत गर्दै सेतोपाटीले जनाएको छ । दुर्घटनापछि सुरक्षाकर्मीको टोली
उद्धारमा खटिएको थियो ।
ज्यान गुमाउनेमा ५० वर्षीय
निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी,
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, कोहलपुर
नगरपालिका–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ का २२
वर्षीय कृष कनौजिया छन् । पहिचान खुल्न बाँकी मृतक अन्दाजी ४० देखि ४२ वर्षका
पुरुष रहेको प्रहरीले जनाएको छ ।
बसमा च्यापिएका चार जनालाई दुईवटा
क्रेनको सहयोगमा बिहान सवा ६ बजे उद्धार गरी डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल
पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापालाई उद्धृत गर्दै
सेतोपाटीले उल्लेख गरेको छ । घाइतेमध्ये नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय
अस्लाम भगवानको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल
कलेज पठाइएको छ । बाजुराको स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढालाई
पनि चितवन मेडिकल कलेज, भरतपुर रेफर गरिएको छ ।
अन्य घाइतेमा गोरखाका ३० वर्षीय
हरिशरण थापा, अछामका २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाकी २० वर्षीया
आकृति थारु, बर्दियाका २८ वर्षीय सञ्जय थारु, बाजुराका २५ वर्षीय प्रेम बम,
ललितपुरका २९ वर्षीय अनोज खत्री, बर्दियाका ३६ वर्षीय लालबहादुर कार्की र सल्यानका
२१ वर्षीय अनिल बुढाथोकी छन् । उनीहरूको टाउको, अनुहार, कम्मर, हात तथा खुट्टामा
चोट लागेको विवरण सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितलाई उद्धृत गर्दै अनलाइनखबरले प्रकाशित गरेको प्रारम्भिक विवरणअनुसार बसमा चालकसहित १८ जना सवार थिए । त्यसमध्ये दुई जना सकुशल रहेको उल्लेख छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।