ट्राफिक नियम उल्लङ्घनमा २४ घण्टामै १,९२२ चालक कारबाहीमा, पाँच लाखभन्दा बढी राजस्व संकलन
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि गरिएको निगरानीका क्रममा पछिल्लो २४ घण्टामा १ हजार ९ सय २२ जना चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट ५ लाख ११ हजार ५ सय १ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार विभिन्न प्रकारका ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो । सबैभन्दा धेरै १ हजार २ सय ९६ जना अन्य विविध ट्राफिक नियम उल्लङ्घनका कारण कारबाहीमा परेका छन् ।
त्यसैगरी, मादक पदार्थ सेवन (ड्रिंक एन्ड ड्राइभ) गरेर सवारी चलाउने ९२ जना, नियमविपरीत राइड सेयरिङ गर्ने ७८ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १२९ जना तथा तीव्र गतिमा सवारी चलाउने १३९ जना चालकलाई पनि कारबाही गरिएको छ ।
यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने ४१ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६७ जना, कालो सिसा प्रयोग गरेका सवारीसाधन सञ्चालन गर्ने १० जना र एकतर्फी सडकमा सवारी चलाउने ७० जना पनि ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि नियमित चेकिङ, निगरानी र सचेतनामूलक अभियान सञ्चालन भइरहेको जनाएको छ । कार्यालयले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै नियमको उल्लङ्घनले दुर्घटनाको जोखिम बढाउने भएकाले सुरक्षित र जिम्मेवार ढंगले सवारी चलाउन सबैलाई अनुरोध गरेको छ ।
ट्राफिक प्रहरीले सवारी अनुशासन कायम गर्न र सडक दुर्घटना न्यूनीकरण गर्न आगामी दिनमा पनि कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको छ ।