ब्याट्रीबाहेक ४.५ लाख भारुको इलेक्ट्रिक ट्याक्सी विकास गर्दै ईनेग
काठमाडौँ । भारतको अहमदाबादस्थित ईनेग मोबिलिटीले ब्याट्रीको मूल्यबाहेक ४ लाख ५० हजार भारुमा उपलब्ध गराउने लक्ष्यसहित इलेक्ट्रिक ट्याक्सी विकास गरिरहेको छ । व्यावसायिक ट्याक्सी सञ्चालनलाई ध्यानमा राखेर तयार पारिँदै गरेको यो गाडी ब्याट्रीसहित करिब ६ लाख ४९ हजार भारुको अनरोड मूल्यमा उपलब्ध गराउने कम्पनीको योजना छ ।
ब्याट्री एकैपटक खरिद गर्न नचाहने
ट्याक्सी सञ्चालकका लागि सदस्यताको विकल्प प्रस्ताव गरिएको छ । यसमा गाडी खरिद
गर्दा ब्याट्रीको मूल्य तिर्नुपर्दैन, प्रयोगबापत छुट्टै शुल्क लाग्छ । कम्पनीको
प्रारम्भिक अनुमानअनुसार ब्याट्रीसम्बन्धी शुल्क प्रतिकिलोमिटर करिब १ भारु हुन
सक्छ । सदस्यताको अन्तिम शुल्क र सर्त भने तय भइसकेका छैनन् ।
पाँच सिट क्षमताको गाडीमा ३० देखि ३२
किलोवाट आवरको एलएफपी ब्याट्री र ५० किलोवाटको मोटर राख्ने योजना छ । एकपटकको
चार्जमा ३०० देखि ३२० किलोमिटर रेन्ज दिने लक्ष्य राखिएको छ ।
कम्पनीले डीसी फास्ट चार्जरबाट
ब्याट्री १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २७ मिनेट लाग्ने विवरण पनि दिएको
छ । रेन्ज र चार्जिङ समय अहिले विकासका लक्ष्य हुन् ।
गाडी व्यावसायिक बिक्रीमा आइसकेको छैन
। प्रस्तावित मूल्य र प्राविधिक विवरण अन्तिम उत्पादनमा परिवर्तन हुन सक्ने
कम्पनीले जनाएको छ ।