१ लाख किमिपछि पनि ९७% ब्याट्री क्षमता, ईभी ब्याट्री कति टिकाउ ?
काठमाडौं । विद्युतीय सवारी किन्नुअघि धेरै नेपाली ग्राहकले सबैभन्दा धेरै सोध्ने प्रश्नमध्ये एक हो– "के केही वर्षपछि ब्याट्री फेर्नुपर्छ ?" यही प्रश्नको जवाफ दिने गरी सार्वजनिक भएको एउटा नयाँ अन्तर्राष्ट्रिय अध्ययनले आधुनिक ईभीको ब्याट्री अपेक्षाभन्दा निकै टिकाउ रहेको देखाएको छ ।
करिब १ लाख किलोमिटर सञ्चालन भइसकेपछि पनि केही विद्युतीय सवारीले आफ्नो प्रारम्भिक ब्याट्री क्षमताको ९७ प्रतिशतभन्दा बढी अवस्था कायम राख्न सफल भएको अध्ययनले देखाएको हो । अझ अध्ययनमा समावेश भएका उत्कृष्ट २० मोडलमध्ये सबैभन्दा पछाडि रहेको सवारीमा समेत ९१ प्रतिशतभन्दा बढी ब्याट्री स्वास्थ्य कायम रहेको पाइएको छ । यसले पछिल्ला पुस्ताका ईभीमा प्रयोग भइरहेका ब्याट्री प्रविधि पहिलेको तुलनामा उल्लेखनीय रूपमा परिपक्व भइसकेको संकेत गर्छ ।
अध्ययनअनुसार किया ई–निरो ले सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै औसत ९७.७ प्रतिशत ब्याट्री स्वास्थ्य कायम राखेको छ भने हुन्डाई कोना इलेक्ट्रिक ९७.१ प्रतिशत सहित दोस्रो स्थानमा रहेको छ । टेस्ला, बीएमडब्ल्यू, अडी लगायत विश्वका चर्चित विद्युतीय सवारी ब्रान्डका मोडलहरू पनि यस परीक्षणमा समावेश गरिएको थियो ।
१० हजार ईभीमाथि गरिएको परीक्षणले के देखायो ?
यो अध्ययन स्विडेनस्थित स्वतन्त्र ईभी ब्याट्री परीक्षण संस्था एभिलुले करिब १० हजार विद्युतीय सवारीसाधन मा गरेको परीक्षणका आधारमा सार्वजनिक गरेको हो । अनुसन्धानमा करिब ६२ हजार माइल (झण्डै १ लाख किलोमिटर) चलिसकेका सवारीहरूको ब्याट्री स्वास्थ्य तुलना गरिएको थियो । अध्ययनले आधुनिक ब्याट्री व्यवस्थापन प्रणाली, प्रभावकारी ताप नियन्त्रण र नयाँ पुस्ताका सेल प्रविधिका कारण ब्याट्री क्षमता घट्ने दर विगतको तुलनामा निकै कम भएको निष्कर्ष निकालेको छ ।
नेपालका ग्राहकका लागि किन महत्त्वपूर्ण ?
नेपालमा पछिल्ला केही वर्षयता विद्युतीय सवारीको लोकप्रियता तीव्र रूपमा बढिरहेको छ । तर नयाँ ईभी खरिद गर्ने धेरै ग्राहकको मुख्य चिन्ता अझै पनि "ब्याट्री कति वर्ष टिक्छ ?" भन्ने नै हुने गरेको छ ।
"अहिले बजारमा आउने अधिकांश नयाँ पुस्ताका ईभीमा ब्याट्रीभन्दा पहिले गाडीका अन्य पार्ट्स परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले ब्याट्री चाँडै बिग्रन्छ भन्ने धारणा विस्तारै गलत सावित हुँदै गएको छ ।"
यदि यस्ता अध्ययनको नतिजा आगामी वर्षहरूमा पनि निरन्तर पुष्टि हुँदै गए भने नेपालजस्ता उदाउँदो ईभी बजारमा उपभोक्ताको विश्वास अझ बलियो बन्ने र विद्युतीय सवारीतर्फको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ ।
ब्याट्री लामो समय स्वस्थ राख्न के गर्ने ?
विशेषज्ञहरूका अनुसार सामान्य प्रयोगकर्ताले केही आधारभूत बानी अपनाए मात्रै पनि ईभीको ब्याट्री लामो समयसम्म राम्रो अवस्थामा राख्न सकिन्छ ।
- दैनिक प्रयोगमा सकेसम्म २०–८० प्रतिशत चार्ज दायराभित्र राख्ने ।
- अत्यधिक गर्मी वा चिसोमा लामो समय सवारी पार्क नगर्ने ।
- आवश्यक पर्दा मात्रै डीसी फास्ट चार्जर प्रयोग गर्ने र नियमित चार्जिङका लागि एसी वा लेभल–२ चार्जर रोज्ने ।
- कम्पनीले उपलब्ध गराउने सफ्टवेयर अपडेट समयमै इन्स्टल गर्ने ।